मुनिया, माधुरी र मिना कुमारी (कथा) भाग १
आज पनि बिदै थियो, खानपान सकेर निक्लिम हामी, छोरीले सिनेमा हेर्ने जिद्दी गरेकिथी' । मैले टिकेट लिएं, ऊनिहरुले पपकर्न र सोडा । तडक-भडक गर्ने ऊमेर नि नभेर होला, मलाई सुपर हिरोका सिनेमा खास्सै मनपर्न छाडेकाछन् - बरु बायोग्राफी वा ड्रामा नै रुचाउंछु तर यिनिहरुका लागि हेर्दिनै पर्नेथ्यो, लुरुलुरु गएर सिटमा बसें । सिनेमा सक्काएर केहीबेर घुमघाम र फोटोसेशन पनि चल्यो । मैले लबस्टर खाने धोको मेटें, ऊनिहरुलाई नि पानीपुरिको क्रेभ चलेछ, भईयाजीकोमा पनि हाजिरी लगाइम् । अन्त्यमा थोरबहुत किनमेल सकेर फिर्ती सवारी भो । सुधा आज ब्याक सिटमै बसेर छोरीसँग नानाथरी गफ उडाउन थाली, म डाइबर साब बनेर केकेजाती सोच्दै गाडी गुडाउन थालें ।
सुधा रातभरी राम्ररी सुत्न सकिन हिंजो, एता र ऊता कोल्टो फेरिरही । विहान पनि चांडै उठी । अरु बेला त week-end मा म पनि अल्छि गरेरै पल्टिरन्थें तर त्यो दिन मनले मानेन । उठेर सेलफोन चेक गरें, miss-call, sms केइ थेन, मेल-सेल नि रेनछ; facebook को भित्तोमा सुज्यानाले लेखेकिथी' desperately waiting to board next flight, but no idea how to kill these 3 hrs at abu dhabi transit.
सुधाss छोरीले अब्बु धाविबाट status update गर्या रइछे नि ! म किचनतिर लागें ।
ए होर ! के लेख्याछे ?
खास केइ छैन, ३ घण्टा ट्रान्जिट परेछ त्यां ।
ए, (ओभेनको घडी हेर्दै ऊस्ले भनी) ऐले त heathrow बाट पनि ऊडिसकिहोली है ?
अघी नै होलानी । चिया पाकेन ? मलाई कतिखेर चिया र चुरोट खाउं भईसक्याथ्यो ।
हेरिस्यो न फेरी दानावाला कागती परेछ के । त्यो चाइनिज त मरीss जावोस् । झन् तेस्कोमा दाना हुंदैन भनेर ल्याकोत___
अब तेल्ले बिचरा कागतीभित्र बियां हाले होला त ! squeeze गर्न, भईहाल्यो नि ।
तेत्तिकै squeeze गर्यो भने तितो हुन्छ के, काम मात्रै बढायो मुर्दारले । सानो चक्कु लिएर सुधा बियां निकाल्न थाली, चिया अलिक ढिलै पाक्ने लक्षण देखेर म चुरोट तान्न निक्लिएं ।
हुनत सुज्यानाको ल्यान्डिङ ११:३० तिर मात्रै थ्यो तर एक त हामीलाई ऊत्सुक्ताले भोकै लागेन अर्को कुरा सँगै खाउंला भन्ने मनशाय नि थ्यो, तेसैले खाना बनाइयो मात्र । अलि-अली तयार भएर तल झर्यौं, मैले aerosmith को what it takes .. बजाएं, सुधा बिस्तारै टाउको हल्लाउंदै गुन्गुनाउदै थि', हामी एयरपोर्टतिर लागिम् ।
ओहो ! कस्तो चिस्यो छिर्यो के, बन्द गरिस्यो न त्यो ।
हातको आधी चुरोट तेहीं अलिकती पानी भएको गिलास (मेरो एस्ट्रे) मा फालेर, सबै सिशा बन्द गरें ।
ऊस्लाई चिसो छिरे जस्तो भारेछ, मलाई आफु भने कुनै टाइम-मसिनभित्र छिरे जस्तो लाग्दैथियो - करीब एक दशक बिगतमा हुत्तिंदै थिएं म । समयले खाटा बसालिसकेको घाऊ, आज सुज्यानाको आगमनले फेरी कोट्ट्याउंदै थियो । मेरी आमैले आगो खन्नु भाकोथियो, जब सुज्याना र ऊस्की आमालाई मैले पहिलो पटक घरमा लगेर गएकोथिएं ।
वहांले औंला ठड्याउंदै भन्नु भाथ्यो; हेर् बाबु, आजसम्म तैंले जे भनिस् - जे गरिस् मैले आंखा चिम्लेर हुन्छ भन्देको छु । तर यो चाइं म मान्दिन, भोली छरछिमेक र इष्टमित्रलाई कुन मुख देखाउनु मैले ?
ठिकै छ आमा, म यिनिहरुकोलागी बाहिर नै कतै ब्यबस्था गर्छु तर तेतिन्जेलका लागी कम्सेकम १-२ दिन त शान्तिले बस्न दिनुस्, मैले अनुरोध गरें ।
जे गर्नुछ छिटो गर् है । आमा अलिक नरम हुनुभो, खासमा मेरी आमै दिलको नराम्रो मान्छे त होइन; वहाँलाई खाली so-called इज्जत प्रतिस्ठाको मात्र डर थियो ।
म अतितमै घोत्लिंदै थिएं, पार्किङ आइपुगेछ ।
करीब पौने घण्टा कुरेपछी सुज्याना देखा परी' दुइटा ठुल्ठुलो सुटकेस गुडाउंदै । हाम्ले हरेक पटक कुरा हुंदा भन्थिम्; केइ ल्याउन पर्दैन, light travel गरेस् भनेर तर मेरी आमै र सासुमालाई कल्ले जित्नु ? मरमशला, गुन्द्रुक, अचार, पाउं, छुर्पी, सुकुटी, (सुर्य चुरोट पनि सायद) - मैले बाहिरबाटै सबै स्क्यान गरी सक्याथें ! ढोग-भेटको औपचारिकता पछी म सुटकेस समातेर अघी लागें, पछाडि भने भारतीय डेली सोपका अभिनेत्रीहरुलाई पनि मात दिनेगरी दुइटी रुन थाले; बडा मुश्किलले थामथुम पारेर गाडीसम्म पुर्याएं ! यि दुइटी सुखमा - दु:खमा ऊत्तिकै रुन्छन्, नारिको मन निकै कोमल र संवेदनशिल भएर पनि होला । मैले गाडी घरतिर सोझ्याएं तर दिमाग भने अन्तै सोझिंदै थियो, २ वर्ष अघी नेपाल जांदाको घटनाहरुले दिमाग रिङाउन थाले ।
सुधाको सातौं मैना चल्दैथियो तेतिबेला । घर-सशुराली-नातागोता-साथीभाइ सबै दङ्ङ थिए । दुइटी सम्धिनिहरु एता आउने कार्यक्रम पनि तय भाकोथ्यो । तर, पानी पंधेरोमा गुन्यु फुस्किनेगरी बात मार त भन्याभे हाम्रा माताश्रीहरुले return ticket समेत सित्तैमा पाउंथेहोला; embassy को झ्यालमा भने बात मार्न सकेनछन् अनी केको पाउंथे भिजा - पाएछन् ठेंङ्गा !
कोठामा छिर्नासाथ सुधाले रुम्ला झैं गरी सुनाइ, मामुहरुको त भिजा नै मिलेनछ ।
हाम्ले के गर्न सकिन्छ र अब । डेलिभरी एतै गराम्ला, तिमी अलिक तंग्रिए पछी नेपाल जाम्ला, हुन्न ? मैले आश्वासन दिएं ।
भलै हामी एक्लै थियौं तर ह्यां जस्तो सुविधा नेपालमा के कल्पना गर्न सकिन्थ्यो र ? हाम्ले लाख सम्झाउने प्रयास गरेम् तर माताश्रीहरुको सामु हाम्रो दाल गलेन । तोरिको तेल, ज्वानोको झोल र छरी ऊम्रेको भाले ऊनिहरुले नेपालमै रेडी पारे, हामी ऊतै जानु पर्ने भो । बल्ल-तल्ल बिदा मिलाएर लागिम् हामी नयाँ नेपालतिर ।
मैले पैलेइ खबर गरिसक्याथें घरमा - धेरै मान्छे नआउनु भनेर, हाम्रो सामान धेरै नै हुन्छ गाडीमा आंट्न गार्हो हुन्छ भन्ने जानकारी देकोथें । तर, जानिफकारहरु त खै ! क-कस्को हो; ३ वटा गाडी ल्याएर गुरुम्म ऊभ्यारेछन् भईलो खेलौंला झैं गरी लामबद्ध भएर ! धन्न कुनै परमज्ञातालाई गेटै बनाउने ज्ञान सुझेनछ ! घरै पुगेर मनका बांध फुटाउने धैर्य पनि कसैले गरेनन्, १०-१५ मिनेट on the spot नै अंकमाल र रुवाबासीमा बित्यो ! मलाई भने प्याकिङ गर्दा देखी नै सामान धेरै हुन्छ कि जस्तो लाग्दैथ्यो तर अन्तिममा एउटा गाडीमा त बस्ने मान्छे नि भएनन्, सुटकेसहरु मात्र हालेर लागियो ।
म कता आफ्नो सुटकेसको कल्पनामा डुब्दैथें, एता घर आइपुगेर सुज्यानाको सुटकेस निकाल्नुपर्ने बेला भईसकेछ ।
ल सुधा, खाना तताउनु पर्ने हो कि एत्तिकै खाने हो कि हेर्त एकचोटि, छोरी भोकाएर आकी होली । टिभी खोल्दै मैले भनें ।
एss मत प्लेनमा खांदै आको ।
हो, खाए जस्तो त जिउज्यानै छ तेरो ! जा हातमुख धोएर आ, म भुजा पस्किन्छु ।
slim-trim होनी छोरी त ! पावर योगा गर्छु, के ठान्नुभाछ हजुरले ?
ल-ल तैले नै बाबा रामदेवको बिंडो धान्ने भईस्, जा छिटो ।
सुधाले टेबुलमा खाना ल्याइ । मैले ऊस्लाई र सुज्यानालाई, पोमोग्रेन र अरेन्ज जुस सर्भ गरें । मलाई भातसँग जुस-सुस ऊतिसारो मन पर्दैन; अचार-तरकारीको स्वाद नै बिगारीदिए जस्तो लाग्छ, तेसैले आफ्नोलागी पानी लिएं । सांझको खाना हो भने चाइं मेरो पानी अलिक कडावाला हुनेगर्छ !
खाना खाइवरी दुइटी नेपालतीर फोन गर्नथाले, म कानले टिभीको fox news सुन्दै र आंखाले ल्यापटपको new york times हेर्दैथिएं तर मानशपटलमा भने ऊही २ वर्ष अघिको नेपालकै खानाको पुनरावृत्ती हुनथाल्यो ।
अब खन्चुवा हुने दिन आइलागेका थिए । कैले कता बोलाउंछन् - कैले कता बोलाउंछन्, सांझमा घरको खाना त मुश्किलले खान पाउने बातावरण हुनथाल्यो । मलाई कसैकोमा पुग्दिनुमा वा खाइदिनुमा त तेत्तिसारो विघ्न-वाधा वा लाज-शरम केइथेन तर चाइने भन्दा बेसी गरिएको मेजमानी पचाउन भने मलाई बडा आपत् पर्छ - एल्लाई सायद, क्षमता भन्दा माथि उठेर गरिएको मेजमानी भनेर बुझ्दा, अर्थ अंझै प्रष्टेला । ऊनिहरु मायाले बिचरा सकिनसकी गर्दाहुन् - आफुलाई भने ब्यर्थै दु:ख दिन आइएछ कि जस्तो लाग्ने । फेरी कोही भने, केवल प्रतिश्पर्धाकालागी मात्र पनि बोलाउंथे - फलानो र ढिस्कानोले त बोलाइसके अब हामीनी के कम भन्ने उद्देश्यले अभिप्रेरित रहेर ! त्यसैले जानै मन नलागेका ठाउँहरुमा टारी दिने धन्न एउटा बाहाना चाइं थियो, सुधा २ जिउकी भएकिले । उबेला हाम्रा विश्वसनीय बडीगार्डहरु थिए - सुज्याना र सालीनानी, जता गए नि पछीपछी लागिहाल्ने ! पढाई र कलेज त छुट्टाछुट्टै थियो ऊनिहरुको; सुज्याना स्टाफ नर्सको फाइनल सेमेष्टरमा थि', सालीनानीले बिबिएस ज्वाइन गर्याथिन् तर ऊमेर ऊस्तै-ऊस्तै भएकाले निकै पक्का दोस्ती थियो ऊनिहरुमा । म बाहिर-बाहिरै फाट्टफुट्ट सुन्थें, टोल-छिमेकका तोरिहरुलाई त चेत् बाबा कांशी बनाएर राख्याछन् रे !
पैले रिसाइ टोपल्नेहरुकोमा भ्याइहालुम, तेरोमा त बिस्तारै आम्ला नि भनेर गुरुलाई थामथुम पारेर राखेको थें; फेरी भट्टीतीर अनौपचारीक खुवाइ-पियाइ त चलिराकै थ्यो । ऐले त दिदिको पुरानो थलो नि गाएब रेछ - कुनै नाम निशानी थेन, अर्कै कल्ले हो अजंगको बिल्डिङ ठड्यारेछ त्यां ! हामी कुनै नयाँ भट्टिका नयाँ ग्राहक बनेकाथेम् । उ ब्यापारी मान्छे परेकोले १०-५ बजाउनै पर्ने टन्टा थिएन, म त झन संधैको फुर्सदिलो; हामी पुरानै अखडा चाहर्दै याद ताजा गर्थेम् - धुलिखेल, सुन्दरिजल, नगरकोट, दामन, मलेखु .. एस्तै-एस्तै ।
एकदिन राती एताका साथीहरुसँग च्याटमा थिएं, एनसेलको घण्टी बज्यो, सालीनानीको रइछ ।
दिदिलाई ब्यथा लागेजस्तो छ, हामी टिचिङ ले'र जानला', हजुर छिटो ऊतै आइस्यो ।
मेरो मुटु बेपत्ताले धड्किन थाल्यो, छाती छेडेर बाहिरै आउला जसरी । हातखुट्टा लल्याक-लुलुक्कै भो, जिउ थर्थरी कांप्न थाल्यो, चिट्चिट पसिना नि आउन सुरु भईगो । सुधाको date आउन अंझ धेरै नै बांकी थियो, एही चिन्ताले मेरो गिदी कंपित हुनथाल्यो । मलाई के गरुम् - के गरुम् भो, चिच्याउंदै लागें आमाको कोठातिर ।
आमाsss ! हस्पिटल जानुपर्ने भोss
हस्याङ-फस्याङ गर्दै आमा निस्किनु भो, सुज्याना पनि आइपुगी, बाबा घरमा हुनुन्थेन त्योबेला ।
सुधालाई टिचिङ लग्याछ रे, छिटो गैहाल्नु पर्यो । मैले निश्साशिंदै भनें । आमा र सुज्याना जे-जस्तो हुलिया र हालतमा थिए तेस्तै पछाडि बसे, मैले गाडी गुडाएं; उडाएं भनुम् त्यो रात ।
आमा र सुज्यानालाई जेनरल वार्डतीर पठाएर म दौडें इमर्जेन्सीतीर, सुधालाई ल्याइसक्या रेनछ । हतार-हतार गेटतीर निक्लेर एताउता हेर्दैथें, ऊनिहरुको गाडी आइपुग्यो, भित्र बिचरी सुधा छट्पटाउंदै थि' म फेरी दौडें हस्पिटल तिरै । २ जना वार्ड ब्वायलाई ल्याएर सुधालाई स्ट्रेचरमा राखिम र भित्र पुर्याएम । अब उ भित्र पिडाले चिच्याउन थाली, हामी बाहिर डरले थरथर कांप्न थाल्यौं ।
के छ र बुढा त्यस्तो interesting ? कस्तो एकशुरे भईस्या हजुर ? सुधाले झसङै पारी ।
हं ? म झल्यांस्स वर्तमानमा झस्किएं । स्क्रिनमा खुलेको new york times मा त मेरो आंखा मात्र रहेछ, मैले त हेड लाइन पनि पढेको रहेनछु । ऊस्लाई हेरें, कस्तो माया लाएर आए जस्तो भो ।
चिया खाइसिने होलानी ? अब त milk tea खाने साथी नि पाइस्याछ !
सुज्याना खोइ त ?
ऊस्लाई facebook र skype भएपछी को चाहिन्छ र !
सुधाले चिया बनाएर ल्याइ, मलाई चुरोट खान मन लाग्यो ।
तं टिभीमा केइ हेर्ने हो ?
होइन म छोरीलाई नि चिया लैदिन्छु, आफु नि ऊतै खानु पर्ला ।
लौ त ! भन्दै टिभी अफ गरें अनी चिया समातेर म बरण्डातीर लागें, मनको चरी भुर्रर ऊड्दै फेरी टिचिङकै बरण्डातीर लाग्यो ।
हामी सबैलाई त्राशले छोपेको थियो, एक-अर्कासँग नबोली बसेकाथिम्; एक-अर्काको श्वास फेराइ र ढुकढुकी सुनिएलाझैं उराठिलो सन्नाटा छाएको थियो । म बाँयां हत्केलामा चिउंडो अड्याएर झोक्राएको थिएं, सुज्याना तेही पाखुरोलाई आफ्ना दुई हातले च्याप्प समातेर मेरो कांधमा ढल्केकीथी', दाँयांतीर कृपाली (साली) हात बांधेर सिलिङतीर टोलाउंदै बसेकिथिन् । उतापट्टी अलिक पर अर्को बेन्चमा सुधाको बाबा-मुवा र मेरी आमा निन्याउरो भएर बस्नुभाको थियो ।
केही पर्यो भने तुरुन्तै खबर गर्न आउ है, म एकछिन बाहिर छु । बिस्तारै भनेर म निक्लिएं ।
अलिक बाहिरै पुगेर चुरोट सल्काएं । रातको अंधकारमा सडक बत्तिले गर्दा चुरोटको सेतो धुवां अनेकौं आकारहरुमा मडारिएको प्रष्ट देखिन्थ्यो । अर्को चुरोट सल्काउनै लागेकोथें परबाट सुज्याना र कृपाली आउंदै गरेको देखेर उतै लागें ।
के भो ?
भित्र गैस्यो रे, डक्टरले ।
डा. ले आफ्नो क्याबिनमा लगेर बस्न ईशारा गरे ।
हेर्नुस्, केस complicated छ, तुरुन्तै VBAC गर्नुपर्छ ।
मेरो भौतिक शरीर मात्र कुर्सिमा बसेको थियो, आत्मा त कता हो कता पछारीयो ।
आमा र बच्चालाई त केही हुँदैनहोला नि सर ?
तपाईंलाई एकदमै स्पष्ट भन्नुपर्दा, निकै ठुलो chance लिनुपर्ने अवस्था छ र त्यो पनि ASAP । वहाँको uterine rupture भएको छ र यो catastrophic पनि हुनसक्छ ।
अब त साश फेर्न पनि गार्हो हुन थाल्यो तर त्याहां पल-पलको महत्व थियो, पिडा र भयमा जती समय खर्चियो - खतराको संभावना ऊती नै बढेर जानेवाला थियो । मैले थरथरी हात कमाउंदै फर्ममा दस्तखत गरिदिएं ।
please धैर्य गर्नुहोस् र विश्वाश पनि गर्नुहोस्, हामी आफ्नो तर्फबाट कुनै कसर छाड्ने छैनौं ।
सहानाभुती प्रकट गर्दै डा. अपरेसन रूमतिर लागे, म कालो-निलो हुंदै बाहिर निक्लें । बाहिर पर्खि बसेका सबैका उत्सुक र चिन्तित नजरहरुले घोच्नथाले अब मलाई ।
नरमल डेलिभरी गराउन यदी केही गार्हो परेको खण्डमा अपरेशन गर्नुपर्ने पनि हुनसक्छ रे । चिन्ता लिनुपर्ने त्यस्तो केइ छैन रे ।
त्याहां तेतिबेला मैले सत्य लुकाउनु नै ऊपयुक्त देखें ।
बाहिर पुगेर चुरोट सल्काएं, अब उभिने शक्ती पनि हराएको थियो - थ्याच्च तेहीं बसें । बिचरी कती अभागी रइछे, दु:खका चट्याङहरु किन बार-बार एस्कै खुशीहरुमा मात्र बज्रिएका होलान् ? किन एस्लाई मात्र संधै धैर्यता र शहनशिलताको कसौटिमा परिस्थितीले ऊभ्याएको होला ? मनमा अनेकन सोचाइहरुको कोलाहल मच्चिन थाल्यो, अतितको संसार आंखामा फन्फनी नाच्न थाल्यो ।
फुल टाइम अध्यापन पेशालाई पार्ट टाइममा झारेर, मैले भर्खर-भर्खर एउटा एन्जिओ'मा प्रोग्राम कोअर्डिनेटरको जागिर सुरु गर्याथें । कमाइ-धमाइ राम्रै थियो तर त्यहां कार्यरत रहुन्जेल, सबभन्दा मलाई मन परेको कुरा के भने - गोजिको पैसा खर्च नगरीकनै देश दर्शन गर्न पाइयाथ्यो । हुनत, म आंफै दगुरीरनु पर्ने आवश्यकता नै त थिएन; फिल्ड सुपरभाइजरलाई पठाउंदा नि हुन्थ्यो तर, एक त म आफु अत्तिनै घुम्न मन पराउने मान्छे अनी अर्को कुरा, प्लेन नजाने जिल्ला पर्यो कि हाम्रा फिल्ड सुपरभाइजर निर्मलजिले नाक खुम्च्याइहाल्ने ! तेसैले प्राय: म आँफै पुग्थें जतापनी ।
नेपालको धेरै ठाउँ घुमियो त्यो बेला, अंकमै गन्ने हो भने पनि ५०-५५ जिल्ला त जरुर पुग्छन् होला । सुरु-सुरुमा भाषाले थोर-बहुत अप्ठ्यारो पार्थ्यो । जनजातिय वा क्षत्रिय भाषा त म हरिलन्ठुले कांबाट बुझ्नु, बोलीचालिको स्थानीय शब्द र शैलीले पनि झुक्क्याउंथ्यो ! बिराटनगर र झापातीर 'मुलेले जोत्तो' भन्थे । धरान-धनकुटातीर 'जुम्न ल, गरुम्न ल' भनेर जसरी शब्दहरुका पुछारमा प्राय: 'ल' झुण्ड्याइन्छ त्यसरीनै दाङतीर 'नि' झुण्डिदो रहेछ । डडेलधुरामा 'तमी आउन्या नाइ, हामीकन क्याको दोख् बौजो' भन्थे भने नेपालगञ्जमा 'अब्बे नन्कौ बत्ती बुता' भनेको बुझ्न गार्हो । धादिङतीर 'भेछ र रेछ' नै प्रचलित थियो भने टांडीतीर पनि कृया शब्दबाट बिचको अक्षर हटाएर 'गाहैन, खाहैन' भन्नु नै सजिलो मान्दा रहेछन् । रुकुमको 'सिंगाडा' शब्दलाई रुपन्देहीमा ल्याएर अर्थ्याउंदा आकाश-पातलकै फरक पर्थ्यो । राजधानीका प्राय: गैर नेवारी घरहरुभित्र चलिरहेको 'तं-तं र म-म' ४ जना मान्छे भेला हुनासाथ 'आइस्यो र गैस्यो' मा परीणत भैहाल्छ र रैथाने नेवारी ठिटीले 'एस्तो भएर ल्यायो भन्या' भनेको सुन्न पाइन्छ ।
पुगेजती ठाउं र भेटेजती मानीसका बारेमा जान्न-बुझ्न त के सकिन्थ्यो र ? तरपनी; विभिन्न जात-जाती, धर्म-संस्कृती, सामाजिक-आर्थिक-पारिवारीक संरचना, ब्यक्ती बिशेषका सोच-सुशेली-सुस्केराहरु, देश दुनियाप्रतिका दृष्टिकोण र द्रिश्टान्तहरु, मानीस-मानीसबिचमा बांधिएका हातेमालोहरु वा खनिएका खाल्डाहरु - यि सब कुराको यथार्त ज्ञान, पुस्तकका ठेलिहरु र प्रमाणपत्रका खोस्टाहरुले दिने कोरा ज्ञान भन्दा निकै महत्वका लाग्थे मलाई । अनी हाम्रो भौगोलिक विविधता र अनुपमता ! मार्फामा फल्ने स्याउ र वखरहरु, लम्जुङमा फुल्ने लालीगुरांश र लालुपातेहरु, बर्दियामा झुल्ने धान-गहुंका बालाहरु - प्रकृतीको कस्तो बेजोड शृङ्गार !
दुबै हातमा लड्डु झैं भाथ्यो मलाई; बन गए बनै रमाइलो, घर गए घरै रमाइलो । फिल्डको काम सानोमा लठ्ठीकासा र ठुलो भएसी २१ पत्ती खेल्या जस्तो मनोरञ्जनमै बित्थ्यो भने घरमा हुंदा, लभ् पारेर एरेन्ज म्यारिज गर्या प्रिय जीवनसंगीनी हुन्थी - सुधा । अफिसबाट जती नै थकान र टेन्शनमा घरभित्र छिरेनी, उस्को न्यानो आलिङ्गन र अलौकिक मुस्कानले सबकुरा छु: मन्तर ! अनी त नयाँ जोश-जांगरका साथ एन्डिज वा एलीनाज क्याफेतिर । मलाई औधी मन पर्ने एयरपोर्टको सेकुवा उ पनि मिठो मान्दै खाइदिन्थी, उस्को रोजाइमा पर्ने न्युरोडको समोशा म पनि ऊसैगरी खान्थें । बिदाको दिनमा त कहिले म मलेखुको माछा र नारायणघाटको तास ख्वाउन लान्थें भने कहिले उ स्वयम्भुको मन्दिर र कपनको गुम्बा दर्शन गराउन लान्थी । 'जब प्यार किसिसे होता है' भन्ने सिनेमामा रफी साबले, 'सौ साल पहेले ... ' गायझैं हाम्रो जोडी पनि जन्म-जन्मान्तरको लागी बनेझैं लाग्थ्यो । सुखी र सन्तुष्ट ।
अफिसमा एउटी टाइपिस्ट बैनी थिन्, अलिक गोरो वर्णकी । ऊनी लजाइन् भने कानका लोती, नाकको टुप्पो र गालाहरु रात्तै पार्थिन्; तेही हेर्नलाई भएपनि २-४ जना बोका माठ्साबहरु जिस्क्याइबस्थे ऊनलाई फुर्सदमा । म भने फुर्सदमा फोन रिङाउन भ्याइहाल्थें सुधालाई । एकदिन त्यसरीनै वार्तालापमा थिएं, एकजना सहायक आइपुगे ।
याम्डी सरले भित्र बोलाउनु भाछ हजुरलाई ।
ल म आएं ।
सुधासँग बिदा लिएर लागें म हाकिम साबको कक्षतीर ।
शिक्षा मन्त्रालयको एउटा कार्यक्रम लिएर जानुपर्ने भाछ जनकपुरतीर । ऊन्ले कारण खुलाए ।
एs । मैले अरु केही बोलिन ।
तपाईं नजाने भए निर्मलजीलाई पठाउंदा हुन्छनी । शंका कोरिएको नजरले हेर्दै ऊन्ले सुझ्याए, सायद फिल्ड जाने कुराले मेरो आंखामा आउने चमक र बदनमा आउने स्फुर्ती नदेखेर होला हाकिम साबले ।
म सोचौंला, tentatively कती लामो छ सर ?
करीब २ मैना मेरो बिचारमा, तर format planning गर्ने तपाईंले नै हो क्यारे; यि यो file हेर्नुस्न ।
म एकफेर राम्रोसँग अध्यन गरेर सरलाई जानकारी दिउंलानी, भन्दै म फाइल च्यापेर बाहिरीएं ।
म जुत्ता मात्र खोलेर 'नेपाल' पढ्दैथिएं, सुधाले ऊही नित्य मुस्कान छर्दै चिया ल्याइपुर्याइ ।
के भो राजा हजुरलाई आज ? मेरो कपालमा हात फेर्दै मायालु स्वरमा सोधी ।
हं ? मेरो सिङ-पुच्छर पलायो कि केहो ? टाउको छाम्दै म जिस्किएं ।
अंss हजुरलाई त जैले जोकै छ ! लुगा फेरिस्या रैनछ, तेइ भएर पो सोधेको । मेरो पाखुरामा बिस्तारै चिमोटी ।
हेर्न, जनकपुरमा फिल्ड पर्याछ अर्को हप्तातीर तर तंलाई छोडेर जाने मनै छैन । मैले हातको गिलास टेबुलमा राख्दै सुनाएं ।
उस्-उस् ! कैले नगैस्या छर ? मैनौ-मैना हजुरलाई कल्पिंदै बसेकै त छुनी म बिचरी घरमा । ऊस्ले लाडिदै भनी ।
तर सुधा, यो अवस्थामा कसरी जाउं ? देब्रे हातले अंगालेर, दाहिने हात ऊस्को पेटमा राख्दै मैले सोधें ।
भर्खर ३ महिना त भो ! म भोली नै सुत्केरी हुने हो र ? ऊस्ले आफ्ना दुबै हात मेरो हातमाथी राख्दै नजर जुधाइ ।
हामी अनेकौं वाद-विवादमा उल्झिन्थेउं, ऊस्को गर्वमा हुर्कंदै गरेको हाम्रो मायाको चिनोलाई लिएर । ऊ छोरो होस् भन्ने चाहन्थी, मलाई भने छोरी नै चाहिएको थ्यो । अनी उस्तै मतभेद पनि हुन्थ्यो के नाम राख्ने भनेर ! म केही आधुनिक नाम पेश गर्थें, ऊ केही धार्मिक नाम पारीत गर्न खोज्थी । बिचरा त्यो ३ महिनाको भ्रुणसँग हामी घण्टौं कुरा गर्थिम् ! भोली कसरी हुर्काउने र के बनाउने भनेर आ-आफ्नै चण्डीपाठ पनि अलाप्थीम् । कहिलेकाँहीं म अलिक बेसी जिस्किएं भने सुधा पेट छाम्दै उसैलाई छुल्याहा लाएजस्तो गर्थी ! अरुपनी थुप्रै बच्पना गरिन्थ्यो, आमा-बाबु हुंदै गर्दाको उत्साह र उमंगले होकी ? जेहोस् एउटा कुरा चाइं पक्का थियो; कस्तो अलौकिक र दिव्य सुन्दरता छाएको थियो सुधामा त्यो बेला, नारिको सबैभन्दा ठुलो सुख आमा हुनुमा हुन्छ रे - सायद तेसैले होला ।
आखिर जानै पर्ने भो जनकपुर, सुधाले नै निकै कर गरी । भारी मन लिएर चढें म मिथिला ट्राभल्स्को रात्री सेवामा । डाइबर दाइले जगजीत शिङको "होशवालोंको खबर क्या .. " घन्काउंदै कुदाए, त्यो भन्दा नि झन् ठुलो स्वरमा खलासी भाई कुर्लिंदै थियो; एss ल-ल-ल आयो ! नारायणघाट, हेटौंडा, पथलैया, ढल्केबर, जनकपुर !
नौबिसेमा टुबोर्ग खांदै गर्दा मात्र थाभो, खै कुन ट्रकले एउटी बालीकालाई ठक्कर दिएकोले त्रिशुली राजमार्ग बन्द गर्यारैछन् । हामी नेपालीहरुलाई अती नै सजिलो तोडफोड-चक्काजाम र बन्द गराउन ! पछीपछी त अखबारमा छापिएका समाचारहरुले चुट्किला जस्तै हसाउंथे - कुखुरो किचिदिएको झोंक र छोरी पोइल भागेको सोकमा पनि सडक बन्द गर्न थालेछन् ! डाइबर दाइसँग सर-सल्लाह गर्दै जांदा, बाइरोडको बाटो भएर हेटौंडा निक्लिने जुक्ती फुराए ऊन्ले । अब बियरले हुंदैन भनेर जिन नै मगाएं, सानै छंदाको एउटा अप्रिय काण्डले गर्दा अझैंसम्म पनि हाउगुजी भएर बसेकोथियो त्यो बाटोको यात्रा मेरो मनमा ।
कुनै विघ्न-वाधा बेगरनै जनकपुर पुगियो । मेरो सामान अलिक धेरै नै भएकोले एउटा बांजो-बांजो महिन्द्रा जिपको जुगाड गरें । लोडिङको कार्यक्रम सक्काएर 'ल, शिक्षक तालिम केन्द्र जाउं' भनेको त चालक मित्रलाई थाहै रैनछ कता पर्छ भनेर, मलाई झन् के खाएर था हुनु ! एताऊताका केही पसलेहरुलाई सोधी हेरिम्, माछा पाल्ने ठाउँतिरै हो भने ऊनिहरुले, हामी उतै लागिम् । शिक्षक तालिम केन्द्रमा मेरो १-२ दिनको अस्थाइ बसाइ मात्र थियो, फिल्ड एरिया गाउंतिरै परेकोले पछी त उतै कोठा-सोठा लिएर बस्ने योजना बनेको थियो । गेष्टरुममा सामान थन्क्याएर तेहीं नजिकैको जिल्ला शिक्षा कार्यालयतिर लागें, मिश्रा महोदयलाई भेट्नुपर्ने थियो । एकछिन बात्चीत भो, ऊन्ले हर् तरहले सहयोग गर्ने वादा गरे, सुकरीयाका फुलपातिहरु चढाएर म निक्लिएं ।
रामानन्द चोक बनिसकेको थेन उबेला । धेरैबेर एता र उता, तल र माथि घुमिरहें म, शहरको हालत जतानी उस्तै हुनेरेछ भन्ने लाग्यो; फोहोर नालिहरु, उबड-खाबड सडकहरु । एक पानपसले'ले सुनाए, ऐले त साह्रै राम्रो हो रे, बर्षातमा त एक हातले चप्पल र अर्को हातले पाइजामा सिम्हल्दै हिंड्नुपर्छ रे । ऊन्कै 'जर्दा ३३२' चपाउंदै जानकी मन्दिर पुगेर फोटोग्राफिको शौख पनि पुरा गरें केहीबेर । अब ज्यानलाई केही तरल पदार्थ चाइयाथ्यो तर जता हेर्यो उतै मिठाइ पसल र मेडिकलहरु मात्र देखिन्थे, अन्तमा बल्लतल्ल दशरथ तलाउ नजिकै एउटा भट्टी फेला पारेर छिरियो तर सितन रहेछ खुर्सानीको टेम्पुरा मात्रै ! तेइ नि सुस्साउंदै रोयल स्ट्याग तान्दैथें, साउजीलाई साह्रै दया लागेछ क्यारे छिटोछिटो माछा कै टेम्पुरा बनाएर ल्याइदिए ।
३ कोठा र खुला बरण्डा भएको सानो घर फेला परेको थियो । घरबेटिहरु तेही कम्पाउण्डभित्र रहेको ठुलो घरमा बस्दा रहेछन् । सामान सारीसकेको थीन, आज साफ-सफाइ मात्र गर्ने ध्धेयले घरबेटिको कान्छो छोरोलाई कोही मान्छे भेटिन्छन् कि भनेर खोज्न पठाएको थिएं । भित्र कोठा-चोटा नियाल्दै थिएं, एक अध्बैंशे युवतीलाई लिएर उ आइपुग्यो । एस्सो हेरें; कालो वर्णकी दुब्ली आईमाई, आंखा र गाला भित्र गढेकाले नाक केही ठुलो देखिन्थ्यो, सुन्तला रंगको बोर्डर भएको सेतो तर मैलो सुतिको धोती र आश्मानी ब्लाउज लगाएकी थिन्, खुट्टामा अग्र भाग चुंडीई सकेको फित्तोलाई कपडाको डोरिले अल्झाएको बाटा चप्पल थिए, कानमा साधारण सेता मुन्द्रिहरु र गलामा कालो धागोमा बांधिएको जन्तर भिरेकी थिन्, हात र नाक बुच्चै थिए ।
दाई, एही हो ।
घरबेटी पुत्रले ति आईमाईलाई औंल्याए, ऊन्ले नबोलेरै २ हात जोडीन् मैले नमस्ते फर्काएं । तेस्पछी ति घरबेटी पुत्रले मैथिलिमा कुन्नी केकेजाती बड्बडाए, 'साब अब केही समय यहीं बस्नुहुन्छ, राम्रोसँग सफा गर्दिनु' भन्ने आशय मात्र बुझें मैले । ऊनी टाउको हल्लाउंदै भित्र छिरिन्, मलाई चिया निम्तो मिलेकोले ठुलो गरतिर लागें ।
तपाईं नेपाली बोल्नुहुन्छ ? ति आईमाई केके पुछपाछ गर्दै रैछिन् म भित्र छिरेर प्रश्न गरें ।
एकदम थोर, साहब हामीलाई किन तपाईं भन्नुभएछ ?
मेरो बानी एस्तै छ, ऊमेर पनि त हाम्रो ऊस्तै-ऊस्तै होलानी, हैन ?
तर हामी गरीब मान्छे हजुर, कांहा सुहाउंछ तपाईं ठुलो मान्छेले त्यस्तो भनेको ?
छाडिदिनुस् त्यो ठुलो मान्छे र सानो मान्छेको कुरा, के नाम हो तपाईंको ? मैले आफ्नो परिचय दिंदै सोधें ।
कजरी । त हजुर एक्लै बस्नुहुन्छ यहाँ ? औरत छैन के हजुरको ?
अं एक्लै हो, मेरो औरत काठमाण्डुतिरै छे । मेरोलागी खाना पकाइदिनुहुन्छ ? यहाँ त होटल पनि रहेनछ ।
हे माइ ! के भन्नुभएछ साहब, हामी त मुशहर हो !
के भो त ? तपाईंले मेरो घर सफा बनाउन हुने, मेरो खाना बनाउन नहुने ? मत मान्दिन एस्ता कुरा ।
हजुरले कोही यादब खोजिलिनुस्, बहुत पाएहाल्नुहुन्छ ।
ल, एकजना मिठ्ठो पकाउने खोजिदिनुस् त तेसोभए ।
कजरीले ढोकातिर हेर्दै अलिक ठुलो स्वरमा मैथिली बोलिन् । त्याहां एउटी ८-१० सालकी झुत्रो निलो जामा लाएकी बच्ची खाली खुट्टा उम्मिएकी रैछे, देब्रे हात ढोकाले छेकिएको थियो, जिङरिङ्ग परेको कपाल कन्याउंदै गरेको ऊस्को दाहिने हातमा प्लाष्टिकका ४-५ वटा हरिया चुरी थिए ।
को हो ? छोरी हो कि क्याहो तपाईंको ? भित्रै बोलाउनुस् न ।
हो साहब । ऊन्ले छोरीलाई मैथिलिमा भित्र डाकिन् तर उ तेहीं उम्मिएर मुखमा औंला टोक्दै कहिले कजरीलाई कहिले मलाई हेर्नथाली । गोजीमा त वालेट र चुरोट-लाइटर मात्र थ्यो, फुच्चीलाई दिनकोलागी एसो झोलातीर झुक्केर कै छकी भनेर चेक गरें, धन्न आधी बिस्कुट र २ पोका चाउचाउ रहेछ ।
चाउचाउ खान्छेस, ला । एता आत । उ अझैं आउन मानिन, कजरीले केके भन्दै आफै तानेर ल्याइन ।
नेपाली बुझ्दिन कि क्या हो ?
अरे साहब सबै बोलिहाल्छ, अहिले सरमाएकोछ ।
के हो तेरो नाम ? मैले चाउचाउ थमाउंदै सोधें तर उ प्ल्याक-पुलुक मात्र गरिरही ।
ल हेर, यो त लाटी पो रैछ !
कजरीले २ हातले ऊस्को २ कांध पक्डिएर आफ्नो अघी उम्याउंदै नाम भन्न लगाइन, मसिनो स्वरमा उस्ले भनी "मुनिया" ।
क्रमश: