(पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई बेलायती पत्रिका द बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित गरेको छ । २०७२ बैशाख १२ गतेको भूकम्प र त्यसका पराकम्पनले पारेको असरपछि विदेशबाट आर्थिक सहायता जम्मा गर्न तत्कालीन अर्थमन्त्री महतले खेलेको भूमिकालाई आधार मानेर उत्कृष्ट अर्थमन्त्री घोषित गरिएको हो । नेपालमा आएको २०४६ सालको बहुदलपछि सबैभन्दा बढी समय अर्थमन्त्री बन्ने अवसर डा.महतलाई नै छ । उत्कृष्ट अर्थमन्त्री घोषित भएसंगै नेपालको अर्थतन्त्र र डा.महतको भूमिकालाई लिएर बहस हुन थालेको छ । यसै मेसोमा डा.महतको कार्यशैली र अर्थनीतिलाई नजिकबाट हेर्दै आएका अर्का पाका पूर्व अर्थमन्त्री एवं एमाले नेता भरतमोहन अधिकारीसंग गरिएको यो कुराकानीको मुख्य अंश–सम्पादक)
० पूर्व अर्थमन्त्री डा. रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–पहिलो कुरा त उहाँसंग मेरो पुरानो सम्बन्ध, पारिवारिक आवतजावत र संगसंगै काम गरेको दृष्टिकोणले म खुसी छु । जुन सम्मान पाउनु भएको छ त्यसमा म उहाँलाई बधाइ दिन चाहन्छु । आगामी दिनका लागि समेत उहाँलाई शुभकामना । दोस्रो कुरा अहिले भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर २०४८ सालदेखि नेपाली कांग्रेसको सरकार बढी भयो । ६ पटकसम्म रामशरणजी नै अर्थमन्त्री रहनु भयो । अर्थको संचालन कस्तो रह्यो त ? अहिले देख्दै हुनुहुन्छ कृषि परनिर्भरता बढ्यो । उद्योग पञ्चायतभन्दा बढी बिग्रियो । वैदेशिक ब्यापार घाटा डरलाग्दो छ । देशमा रोजगारी छैन । बिजुलीको अभाव यस्तो छ । लोडसेडिङ्ग १५ घण्टा होला जस्तो छ । यस्तो अवस्थाको अर्थतन्त्रमा २०–२२ वर्षमा रामशरणजीको कति दोष थियो त ?
० यो सबै दोष डा.महतको मात्रै हो भन्न खोज्नु भएको हो ?
–उहाँलाईमात्र दोष दिने कुरा त भएन । तर, म के भन्छु भने जुन नीति डा.महतले बनाउनु हुन्छ विश्व बैंक लगायतसंग उदारीकरण आदिका नीतिहरू छन् । म पनि खुला अर्थतन्त्र मन पराउने मान्छे हो । देशको परिस्थिति हेरेर हामीले हाम्रो आर्थिक नीति बनाउने कुरामा उहाँसंग मेरो गम्भीर मतभेद छ । अहिले तथाकथित उदारीकरण–जे पनि मार्केटलाई दिने, कृषिबाट सरकारले हात झिक्ने, कृषिमा अनुदान नदिने लगायतका जति पनि कुराहरू छन् यी सबै देशको स्थिति नबुझी गर्दाखेरी उत्पन्न भएका समस्या हुन् । २२ वर्षको सही मूल्यांकन गरौं । दोस्रो कुरो भूकम्प २०७२ बैशाख १२ गते गयो । राम्रो कुरा हो, उहाँले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गराउनु भयो । साँढे ४ खर्ब पैसा आयो पनि । त्यसका लागि उहाँलाई धन्यवाद छ । राम्रो भयो । तर, संगसंगै के पनि भयो भने भूकम्प गएको छ महिनासम्म उहाँ अर्थमन्त्री रहनु भयो, भूकम्प पीडित जनताका लागि डा.महतबाट खै के भयो त ? त्यस अर्थमा बजेट पनि छ, पैसा पनि छ, कार्यक्रम पनि छ, केही पनि राहत पाएनन् भूकम्प पीडितले । सिन्को भाँच्ने काम पनि डा.महतबाट भएन । यो हेर्दाखेरी सन्तुलित सोचको अभाव देखियो ।
० उत्कृष्ट ठहरिनुका पनि त कारण त होलान् नि ?
–ठहरिने कारण त दिनेले नै भन्नुपर्ने हो । अहिलेका बखतमा एउटा साथीलाई दोष देखाउनुभन्दा एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपालीलाई छनौट गरेर दिएको सम्मान नै खुसीको कुरा हो । यसको अर्थ डा.महतले चलाएको देशको अर्थतन्त्र सही थियो भन्ने होइन । किन कि यो त जीवनले देखायो । जुन किसिमले नेपाली कांग्रेसका रामशरणजीहरूले उदारीकरणका लागि देखाउनु भयो त्यसकै कारण अहिले हामी यो धरासायी स्थितिमा पुगेका छौं । यो नेपाली जनता समक्ष खुल्ला किताव झै छर्लङ्ग छ । २०४८ सालदेखि त बहुदलको हातमा सरकार गयो । तर यो बीचमा कुनै चमत्कारिक कुरा हुन सकेन । यो दूर्भाग्य भयो । २०–२२ वर्षको हाम्रो आर्थिक सोच, नीति तथा कार्यक्रम के रह्यो, किन हामी असफल रह्यौं, अगाडि बढ्नु पर्ने हामी २० वर्ष पछाडि परिरहेका छौं । यो कुराको समीक्षा गर्नुपर्ने हो ।
० भनेपछि उहाँले लिएका आर्थिक नीतिहरू देशको अवस्था हेरेर सही छैनन् ?
–डा.महतले ल्याएका आर्थिक नीति सही छैनन् । उहाँको आर्थिक चिन्तन सोच र मेरो चिन्तन फरक छ । मैले फरक शैलीले कार्यक्रम बनाएँ । उदारीकरण, निजीकरण, कृषि, रोजगारी यस्ता विषयमा पछाडि परेकाले लामो समयसम्म अर्थमन्त्री भएपछि उहाँले पनि जसअपजसको जिम्मा लिनुपर्छ । दोष उहाँकोमात्र पनि होइन । तर उहाँ धेरै पटक कांग्रेसका तर्फबाट अर्थमन्त्री हुनुभयो । मुख्य कुरा त के भने नि, डा.महतले चिन्तन बदल्नु पर्यो । हामी एकातिर हामीले भूकम्पले वर्वाद पार्यो भन्छौं । अर्कातिर २०७२ असोज ६ गतेदेखि भारतले लगाएको नाकाबन्दीले हामीलाई नोक्सान गर्यो । सही कुरा हो । तर एउटा कुरा के भन्छु भने २०७० सालमा संविधानसभाको चुनाव भइसकेपछि सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । एमालेले पनि सरकारमा साथ दियो । अर्थमन्त्री रामशरणजी हुनुभयो । उहाँले २०७१ सालमा बजेट पेश गर्नुभयो । त्यो बजेटका बेलामा पैसा पनि थियो । रेभिन्यू उठेको थियो । कार्यक्रम आयो । समयमा बजेट आयो । बन्द, हड्ताल, नाकाबन्दी कहीँ थिएन । त्यो २०७१ सालकै पर्फर्मेन्स हेर्नुस् त । भूकम्प जानुभन्दा अगाडिको २०७१ फागुन–चैतको अर्थमन्त्रालय र राष्ट्र बैंकले निकालेको तथ्यांक हेर्नुस् त । कुनै उद्योग बढ्न सकेन । तसर्थ भूकम्पले नोक्सान पुग्यो । नाकाबन्दीले नोक्सान पुग्यो । तर, त्योमात्र हैन है डा.महतहरूले बुझ्नु पर्छ । हाम्रो आर्थिक, चिन्तन, सोच, कार्यक्रम, हाम्रा नीतिहरू हाम्रा असफलताका परिणाम हुन् ।
० ६ प्रतिशतको वृद्धिदर लक्ष्य ३ प्रतिशतमा खुम्चिनु बाध्य भएको कारण यही हो त ?
–तीन पनि हुन गार्हो छ । झन् अहिले त नाकाबन्दीलाई दोष दिन पाइएको छ । मेरो आग्रह के भने नाकाबन्दीले धेरै नोक्सान गरेको हो । महाभूकम्पले नोक्सान गरेको हो । त्यो सही हो । तर, संगसंगै म के भन्छु भने २०७२ बैशाख १२ गते गएको भूकम्प अगाडिको ०७१ सालभरिको देशको अर्थतन्त्र कस्तो रह्यो त ? त्यहाँ त कुनै नाकाबन्दी थिएन । कुनै भूकम्प थिएन । पैसाको कमी थिएन । कार्यक्रमको कमी थिएन । समयमा बजेट पास भएको थियो । त्यसकारण मेरो आग्रह के भने एकातिर उहाँलाई बधाइ दिनु पर्छ भने अर्कातिर २२ वर्ष डा.महतले अबलम्बन गरेका अर्थनीतिको आर्थिक स्रोत, चिन्तनलाई हामीले समीक्षा गर्नुपर्छ । यसलाई पुनरावलोकन गर्नुपर्छ । यसमा रामशरणजीले पनि गर्नोस् । कांग्रेसले पनि गरोस् । र, देशका अर्थविद्हरूले पनि सत्यतथ्यमा आधारित भएर पुनरावलोकन गर्नुस ।
० २२ वर्षको अवधिमा ६ पटकसम्म अर्थमन्त्री हुँदा कहाँ पुर्याउनु भयो नेपालको अर्थतन्त्र उहाँले ?
–यो समय त उहाँलाई बधाइ दिने समय हो । जहाँसम्म उहाँको आर्थिक चिन्तन सोचमा मात्र हैन कि २०४८ सालमा नेपाली कांग्रेसको सरकार बन्यो अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । रामशरणजी योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि रामशरणजी अर्थमन्त्री हुनुभयो । त्यो उहाँहरूको बेलाको होस् वा म पनि अर्थमन्त्री भएँ मेरो बेलाको होस् या अरुको बेलाको होस् वस्तुगत रुपमा निष्पक्ष समीक्षा गरौं न । अनि पो धेरै कुरा बाहिर आउँछ नि ।
० नाकाबन्दी, भूकम्प लगायतले थिलोथिलो पारेको अर्थतन्त्रलाई सही ढंगले अगाडि बढाउन अब के गर्नुपर्छ त ?
–मैले त भन्दै आइरहेको कुरा दोहोर्याउने हो । मैले अहिलेको सरकारले चार कुरामा प्राथमिकताका साथ काम गरोस् भन्ने चाहेको छु । एक भूकम्प पीडित जनतालाई राहत दिन– प्राधिकरण बन्या छ । त्यसले स्वतस्फूर्त रुपमा चाडो कामको थालनी गरोस् । दोस्रो नाकाबन्दीलाई खुलाउने नत्र भने चीनका नाकाहरू चाडोभन्दा चाडो खुलाएर जनतालाई राहत दिने । नाकाबन्दीको समस्या समाधान गर्नेतर्फ सरकारले कूटनीतिक प्रयासबाट होस् वा अन्य कुनै हरप्रयासबाट काम गर्नुपर्छ । तेस्रो कुरा के भने अहिले हाम्रो देशमा गाउँघरमा कृषि उत्पादन छैन । कृषि उत्पादन बढाउनका लागि क्यास कार्यक्रम ल्याऔं ५–७ अर्ब रुपैयाँको । साना घरेलु ल्याउनुस् । देशमा उत्पादन भएन । देशको अर्थतन्त्र हेर्ने हो भने दिनानुदिन संकुचन आइरहेको छ । हाम्रो कृषि उत्पादन नहुने, औद्योगिक उत्पादन घट्ने, विदेशी व्यापार डरलाग्दो बढ्ने ।
यस बखतमा हामीले के गर्नुपर्यो भने देशभित्र उत्पादन बढाउनका लागि क्यास कार्यक्रम कृषिमा, साना घरेलु उद्योगमा, उर्जामा ध्यान दिनु पर्यो । चौथो कुरो ९० प्रतिशत सांसदहरू वा ठूला तीनवटा पार्टी कांग्रेस, एमाले र माओवादीले संविधानलाई कार्यान्वयन गराउनु पर्यो । दुई वर्षभित्र नयाँ चुनाव गराउनेतर्फ लाग्नुहोस् । यी चारवटा बुँदा राष्ट्रका आजका लागि गम्भीर मुद्दा हुन् । यी चारवटै मुद्दा संगसंगै अगाडि बढाउनु पर्छ ।