युवराज गौतम
प्रचण्डजी, नमस्कार !
तपाईंहरू बहुदलीय प्रतिस्पर्धामा सामेल हुन युद्ध परित्याग गरेर खुला हृदयले आउनुभएकोमा सबै नेपाली प्रसन्न छन्। तर उनीहरूका मनमा केही खुल्दुली पनि छन्। रगतले लत्पतिएका बन्दुक, खुँडा-खुकुरी पखालेर संसदीय परिपाटीमा बिस्तारै सहभागी हुने क्रममा तपाईंहरू (स्टालिनका शब्दमा)- 'बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल'सम्म आइपुग्नुभएको छ।
अन्तरिम संविधान बनेर अन्तरिम संसद् गठन भएपछि तपाईंहरू सरकारमा सहकार्य गर्न तयार हुनुभएको छ। जुन राजनीतिक प्रणालीका विरुद्ध २०५२ साल फागुन १ गतेबाट तपाईंहरूले सशस्त्र व्रिद्रोह (जनयुद्ध) गर्नुभयो, आज त्यही परिपाटीका सामु नतमस्तक भएर आफनो राजनीतिक भूल स्वीकार गर्नु तपाईंहरूको उदारता, विवशता, बाध्यता वा रणनीति के हो, त्यो कालान्तरमा समयले बताउला।
नेपाली कम्युनिस्ट आन्दोलनले जति संख्यामा क्रान्तिकारी जन्माएको छ, त्यसको हजारौं गुणा शीघ्र पतनका रोगीहरू जन्मायो। शुरु-शुरुमा ठूल्ठूला उग्र कुरा गर्ने र केही वर्षनबित्दै सैद्धान्तिक विचलन तथा राजनीतिक आत्मर्समर्पणको बाटो समात्ने चरित्र सन् १९५० पछि पटक-पटक देखिएको छ।
यो 'हाराकिरी' संस्कृति केशरजंग रायमाझीदेखि नै शुरु भएको हो। विसं २०५२ मा तपाईंहरूले ४० सूत्रीय माग राखेर सशस्त्र व्रिद्रोह शुरु गर्नुभयो र तीमध्येका अधिकांश राष्ट्रवादी मागलाई एकातिर पन्छाएर, उपेक्षा गरेर, बिर्सेर अहिले 'विस्तारवादी, प्रभुत्ववादी र साम्राज्यवादीहरू'सँग आत्मर्समर्पण गर्नुभयो। तपाईंले हालै दिल्लीमा व्यक्त गर्नुभएको विचारले 'राष्ट्रवादी' प्रचण्डको देहावसान भइसकेको र भारतपरस्त दास प्रचण्डको जन्म भएको बुझन गाह्रो पर्दैन।
दिल्लीलाई सिक्किम अधिराज्य बुझाएर बुढेसकालमा पछुतो मानिरहेका लेण्डुप दोर्जेले यस पंक्तिकारलाई भनेका थिए- 'भाइ, शुरु-शुरुमा दिल्लीले रेड-कार्पेट ओछयाएर मेरो स्वागत गथ्र्यो, काम सकिएपछि वास्तै गरेन। बितेका दिनमा मबाट गल्ती भयो, आज पश्चात्ताप गरेर के गरुँ ?'
कालिम्पोङ (दार्जीलिङ) स्थित आफनो पैतृक घरमा लेण्डुप दोर्जे आँखा र कान दुवै कमजोर भएको अवस्थामा पश्चात्तापपूर्ण वृद्धावस्था बिताइरहेका छन्। विदेशीको लहलहैमा लागेर आफनो देश, जनता र राष्ट्रियताको उपेक्षा गर्ने एउटा देशद्रोही (ट्रेटर) जनताबाट कसरी उपेक्षित हुँदोरहेछ भन्ने उदाहरण लेण्डुप नै छन्।
नेकपा (माओवादी)का सर्वोच्च नेताले आफनो राजनीतिक सिद्धान्त -सर्वहारा वर्गको अधिनायकवाद) एकातिर पन्छाएर भारतको राजनीतिक प्रणाली हाम्रो आदर्श (मोडेल) भन्ने उद्गार व्यक्त गर्दा त्यसलाई कसरी बुझने ? इतिहासलाई हत्केलाले छोपेर 'लेनिनले पनि बहुदलीय व्यवस्था मन पराउँथे, स्टालिनले बहुदलीय व्यवस्था लागू नगरेर भूल गरे' भन्ने हास्यास्पद अभिव्यक्तिलाई कसरी लिने ? (हेर्नुहोस्- २० नोभेम्बर २००६ को 'द एसियन एज' दैनिक)
प्रचण्डजी, दिल्लीलाई खुसी पार्ने दौडमा तपाईंले आफू निर्वस्त्र भएको पत्तै पाउनुभएन। नेपालमा हाम्रो सक्रियताले पाकिस्तानी गुप्तचर गतिविधिमा कमी आएको छ भन्ने तपाईंको अभिव्यक्तिले तपाईंलाई नै 'बुमेर्याङ' गरेको छ। जिल्लामा खटिएको प्रहरी निरीक्षकले आईजीपीसमक्ष रिपोर्ट गरेझैं एउटा राजनीतिक नेताले तल्लो स्तरमा ओर्लेर कूटनीतिक मर्यादा उल्लंघन गर्न सुहाउँछ ?
नेपालको राष्ट्रपति हुन रहर गर्ने व्यक्तिले काठमाडौंबाट भारतीय विमानको अपहरण गराउनमा नेपाल दरबारको हात छ भनेर भारतको चाकडी गर्न सुहाउँछ ?
विगतमा भारतको गुप्तचर संस्था र भारतीय सञ्चारमाध्यमले समेत त्यस्तो लाञ्छना लगाएका थिएनन्। दरबारले भारतीय विमान अपहरण गराएको प्रमाण तपाईंसँग भए पत्रकारसामु प्रस्तुत गर्नुपथ्र्यो। होइन भने शंका, हल्ला र सुनेको भरमा एउटा नेताले यसरी किटानी जाहेरी दिन मिल्दैन। यो त अपरिपक्वता मात्र होइन, दासत्वको प्रदर्शन हो।
प्रचण्डजी, तपाईं भूमिगत रहँदा हामी पत्रकारमाझमा तपाईंका बारेमा थुप्रै चर्चा हुन्थे। प्रचण्ड इमानदार, शालीन, शिष्ट, दूरदर्शी, विद्वान्, विनयी, राष्ट्रवादी र अत्यन्त समझदार व्यक्ति हुन् भनेर तपाईंको व्यक्तित्वमा बाँसको उचाइ थप्नेहरू पनि कम थिएनन्।
तपाईं सार्वजनिक भएपछि तपाईंकै अभिव्यक्तिले दिन-प्रतिदिन तपाईंको उचाइ घटाइरहेको कटु यथार्थ स्वीकारेर अब आत्मा-आलोचना गर्नै पर्छ। हिजो भूमिगत रहँदा बन्दुक देखाएर निरीह गाउँलेलाई 'मान्-नमान्- म तेरो मेहमान' भन्न सजिलो थियो। शहरमा सभ्य समाजसँग तर्क, छलफल, विश्लेषण, मीमांसा र समझदारीबाट मन जित्न गाह्रो छ।
कसैलाई पनि तर्साएर राज्य गर्न सकिने माओ-लेनिन वा स्टालिनको युग अब रहेन। सेन्ट हेलेना टापुमा कैदी भएका बेला नेपोलियनले आफना छोरालाई लेखेको चिठीमा भनेका थिए- 'बाबु, मैले बन्दुकले धेरै राज्य जितें। तिम्रो युग विचारको युग हो, बन्दुकले होइन-विचारले विजयी हुने प्रयत्न गर।' यो कुरा राजादेखि रंकसम्म सबैलाई लागू हुन्छ।
निरंकुशता नरुचाउने प्रजातन्त्रप्रेमी नेपाली जनताले कसैको पनि निरंकुशता रुचाउँदैनन्। त्यसैले जबर्जस्ती चन्दा उठाउने, दूधे बालबालिकासमेतलाई माओवादी बनाउने, जनतालाई सताउने र बन्दुकले सबैथोक जित्न सकिन्छ भन्ने आदिम सोच त्यागेर तपाईंहरू वैधानिक तरिकाले जनमत पाउने शैली रोज्नुहोस्।
जनता तपाईंहरूसँग खुसी छन्-छैनन्, स्पष्ट थाहा पाउनुहुनेछ। हातमा सत्ता र शक्ति लिएर जनताले हाम्रो आदेश मान्नै पर्छ भन्ने पोलपोट, होचिमिन्ह, अनवर होक्सा, इदी अमिन, माओ, लेनिन र स्टालिनको शैली, सोच र सिद्धान्त २१औं शतँब्दीमा काम लाग्दैन। यस्तै मानवअधिकार तथा राजनीतिक धर्मको परिभाषा पनि आफनो स्वार्थ, स्वाद र सुविधाअनुसार गरिनु उचित हुँदैन।
माओवादीले बितेका ११ वर्षा बालकदेखि वृद्धसम्म हजारौंको हत्या गरे। रेटेर, काटेर, अंग-प्रत्यंगमा प्वाल पारेर, झुन्डयाएर, खाल्डोमा ज्युँदै गाडेर वा यमराजलाई पनि आँसु आउने पाशविक काम कति भए कति - सांसद परी थापाकी पत्नीको घुँडा प्वाल पारियो भने बालिका काजल खातुनलाई बसमा जलाएर मारियो।
चितवनको बाँदरमुढेमा झन्डै ६० जनाको एकै चिहान पारियो। हजारौंका घर जलाइए। स्कुल, अस्पताल र सरकारी भवनहरू जलाइए। लाखौं जनता आफनै देशमा शरणार्थी भए। तैपनि माओवादीलाई सजाय होइन, सत्ता दिन जनता तयार छन्। केवल शान्तिका लागि। यो जनताको कायरता होइन, उदारता हो।
जब माओवादी मानवअधिकार र स्वतन्त्रताको कुरा गर्छन् तब महाभारतमा श्रीकृष्णले कर्णलाई गरेका प्रश्नहरूको सम्झना हुन्छ। युद्धमा कर्णको रथ भास्सिएपछि 'अर्जुन म संकटमा छु, हमला बन्द गर' भनेर कर्णले आग्रह गर्दा श्रीकृष्णले क्रुद्ध हुँदै जवाफ दिए? 'कर्ण तिमी धर्मका कुरा गर्र्छौ।
कस्तो आर्श्चर्य ? लाहाको घर बनँएर पाण्डवहरूको एकै चिहान बनाउन खोज्ने तिमीहरूको धर्म त्यो बेला कहाँ गएको थियो ? भीमलाई विषाक्त भोजन दिएर मार्न खोज्दा तिमीहरूको धर्म कहाँ गयो ? द्रौपदीलाई सभामा निर्वस्त्र पार्न लाग्दा तिमीहरूको धर्म कहाँ लुकेको थियो ? अभिमन्युलाई छ जना महारथी मिलेर हमला गर्दा तिमीहरूको धर्म कहाँ थियो ? १३ वर्ष गुप्तवासपछि पनि वचनअनुसार पाण्डवहरूको राज्य फिर्ता नगर्नेहरू के धर्मको कुरा गर्र्छौ ? जतिबेला तिमीहरू संकटमा पर्र्छौ अनि धर्मको कुरा गर्ने ?'
प्रचण्डजी, राष्ट्रियता र मानवताभन्दा ठूलो धर्म अर्को केही पनि छैन तर ९० ठाउँमा सिमाना मिचिँदा पनि तपाईंहरू चुपचाप बस्नुभयो। यसबाट तपाईंहरूको राष्ट्रियता कति प्रबल रहेछ, स्पष्ट देखियो। विदेशीले सहजै नागरिकता पाउने राष्ट्रघाती सर्तहरूको तपाईंहरूबाट कुनै विरोध आएन। नेपाललाई सिक्किम वा भुटान बनाउन चाहनेहरूलाई तपाईं आज आदर्श मान्दै हुनुहुन्छ। आखिर, भारतकै चरणमा लम्पसार पर्नु थियो भने हजारौंको हत्या किन गर्नुभयो ? लाखौंको घरबार किन उजाड पार्नुभयो ? किन रगतको खोला बगाउनुभयो। जवाफ दिन सक्नुहुन्छ ?
Published Date and Time:2006-12-12 04:12:23