इनरुवा, जेष्ठ ५ - विदेशी नागरिकलाई पटक पटक नागरिकता लिएर चर्चामा आउने जिल्ला प्रसासन कार्यालय सुनसरीवाट नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित पाँचजना बिहीबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय बनेर नागरिकता लिने भारत बिहारको घुरनाका जहागिर मिया, उनका नक्कली बुवा बन्ने सुनसरी जल्पापुर ५ का मक्सुद मिया र सहयोगी रहेका जल्पापुरकै मुक्तार आलम रहेका छन् । यसैगरी भारतीय नागरिकको नागरिकता दिन सिफारिस गर्ने जल्पापुर गाबिसका सचिव भुपाल श्रेष्ठ र बहिदार प्रकास फुयाल समेत पक्राउ परेका छन् ।
नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकता फाँटमा फारम दिने बित्तिकै जल्पापुरकै स्थानिय वासिन्दाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
विगत एकवर्षमा सुनसरी जिल्ला प्रशासन कार्यालयवाट अन्तर्राष्ट्रिय आतंकवादी अली असरफ अन्सारी, बंगलादेशी नागरिक हासिम आलम, भारतीय नागरिक चन्द्रमोहन शर्मासहित आधा अर्जन विदेशी नागरिकले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति: २०६८ जेष्ठ ५ ०६:५९