काठमाडौं, अषाढ ४ - राष्ट्रिय जनगणना राष्ट्रकै कार्यक्रम हो । त्यसका निम्ति ५० वटा प्रश्नावली तयार पारिएको छ । जसमा २३ वटा पारिवारिक र २७ वटा व्यक्तिगत छन् । जनगणनालाई बढी वैज्ञानिक र नेपालको परिवेशअनुकुल प्रभावकारी बनाउन प्रश्नावली निर्माण गरिएको केन्द्रीय तथ्याङ्क विभागको दावी छ । यति धेरै प्रश्नमध्ये आदिवासी जनजाति समुदायले पाँच बुँदामात्र चासोका रुपमा लिएका छन् ।
राष्ट्रिय जनगणा २०६८ का निम्ति निर्मित प्रश्नावलीमध्ये उनीहरूले व्यक्तिको नाम, थर, जाति, मातृभाषा, दोस्रो भाषा र धर्म प्रमुख ठानेका छन् । 'जनगणना जातीय पहिचानको सवाल पनि हो', किरात राई यायोक्खाका महासचिव चन्द्रविक्रम राई भन्छन्- 'यति धेरै प्रश्नमध्ये पाँचवटा मात्र हाम्रो सरोकारको विषय मानेका छौं ।'
विभागले जनगणनालाई राज्य पुनःसंरचनाको आधार निर्माण गर्ने कडीका रुपमा पनि लिएको छ । त्यसमा जाति र भाषा आधार मानिएको छ । भाषाप्रति जनजातिको बुझाइ भने अलि फरक छ । 'दोस्रो भाषाका रुपमा छिमेकमा बोलिने भाषा उल्लेख गरे, उसको पनि अस्तित्व बाँच्छ', राईको ठम्याइ छ ।
नेपाल आदिवासी जनजाति महासंघले जनगणनालाई 'मिथ्याङ्क' हुन नदिन केन्द्रदेखि स्थानीय तहसम्म सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । 'अहिले पनि हामीले भनेजस्तो जनगणना हुनसकेको छैन', सबै पक्षको चासो उत्तिकै रहेको उल्लेख गर्दै महासंघका अध्यक्ष राजकुमार लेखी थारुले भने- 'हामीले जाति, भाषा, धर्म स्पष्ट पार्न भनेका छौं ।'
देशभरि ८० जिल्ला जनगणना कार्यालय र साढे तीनसय इकाला जनगणना कार्यालय छन् । त्यसअन्तर्गत साढे आठहजार सुपरिवेक्षक र ३४ हजार गणक खटाइएका छन् । स्थानीय तहमा जनजाति, दलित, अल्पसंख्यक मैत्री जनगणनाका निम्ति सम्बन्धित जातिको गणक हुनुपर्ने महासंघले भनेको थियो ।
राष्ट्रिय जनगणनो, २०५८ मा देशमा सशस्त्र द्वन्द्व जारी थियो । जनगणना सुरु भएलगत्तै जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो । जसले गर्दा जनगणना प्रभावित बनेको थियो । द्वन्द्व प्रभावित क्षेत्रमा जनगणना लिन सकिएको थिएन । विशेषगरी पश्चिम रुकुम, रोल्पा, दैलेख आदि जिल्लाहरूमा । जसरी भएपनि दसौं राष्ट्रिय जनगणना पूरा गरियो । मुलुकको जनसंख्या २ करोड ३१ लाख ५१ हजार देखाएको छ । त्यसमध्ये ३७ दशमलब ८ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ ।
जनगणनामा खटाइएका सुपरिवेक्षक र गणकले विगतमा जस्तो चौतारीमा बसेर या गाउका कुनै ठालुको घरमा मेजमान खाएर उसले जे-जे भन्यो त्यही त्यही कुरो जनगणनाको लगत लिने जमानाको अन्त्य भएको छ । विभागले दावी गरेजस्तै जनगणना तथ्याङ्क जनजजाति समुदायले मिथ्याङ्क भन्ने गरेका छन् । 'यस पटक राम्रो र हाम्रो होस् भएको चाहेका छौं', राईले भने ।
यसअघि धर्मको महलमा हिन्दु, बौद्ध, क्रिश्चियन, किरात र मुस्लिम उल्लेख थियो । यो पटक खुल्ला राखिएको छ । 'धर्म, मातृभाषा, थरमा त्यत्ति धेरै सजग छैनन्', नागरिक पर्यवेक्षण समितिको तर्फबाट म्याग्दीको बेनीबजार पुगेका पर्यवेक्षक गोविन्द छन्त्यालले पहिलो दिनको अनुभव सुनाउँदै कान्तिपुरलाई भने, 'गणकहरु नै जाति र थरमा स्पष्ट नरहेको पायौं । साथै धर्मको महलमा घरमूलीले जे मान्छ त्यही लेखिदिने गरेको पाइएको छ । धर्म व्यक्तिगत भएकाले घरमूलीले जे लेखायो त्यही नहुन सक्छ ।'
किरात जातिभित्रका राई, लिम्बू, याक्खा र सुनुवार (कोइँच)ले धर्मको महलमा 'किराँत' उल्लेख गर्दै आएका छन् । मातृभाषाको महलमा राई समूहका २४ भन्दा बढी भाषाहरू र दोस्रो भाषाको महलमा राईभित्रकै भाषा लेख्न भनेका छन् ।
किरात सुनुवार (जसलाई मुखिया भनेर पनि चिनिन्छ) जातिलाई कतिपय अवस्थामा दलित (सुनार) समेत भन्ने गरिएकोले यो जातिमा पीडा थपिएको छ । त्यसैले अबको राष्ट्रिय जनगणनामा सुनुवारले आफूलाई 'कोइँच' भनेर स्थापित गर्न चाहेको सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताए ।
त्यसैगरी नेपाल तामाङ घेदुङले जातिमा तामाङ, मातृभाषा तामाङ दोस्रो भाषामा जनजातिको कुनै एक भाषा र धर्ममा बौद्ध लेख्न आह्वान गरेको घेदुङका सचिव प्रतिक तामाङले बताए । नेपाल मगर संघले जातिमा मगर, मातृभाषा मगर -तीन किसिमका छन् (ढुट, काइके र खाम), दोस्रो भाषा जनजातिकै भाषा र धर्ममा बौद्ध लेखाउन आह्वान गरेको महासचिव बसन्त घर्तीमगरले बताए ।
तमु ह्युल छोंजधी (गुरुङ राष्ट्रिय परिषद)ले जातिमा गुरुङ (तमु), मातृभाषा गुरुङ (तमु), दोस्रो भाषा मगर जनजाति र धर्म बौद्ध/बोन लेख्न आव्हान गरेको परिषदका महासचिव रेशम गुरुङले जनाए । नेवाः देय दबूले जातिमा नेवार, नेपालभाषा (नेवार), दोस्रो भाषा छिमेकको भाषा र धर्म हिन्दु वा बौद्ध लेखाउने भनेको छ । धर्म व्यक्तिको इच्छाअनुसार हुने भएपनि आदिवासीय पहिचान जोगाउनका निम्ति परम्रादेखिको भाषा र धर्म लेखाउनु परेको अधिकारकर्मीको दावी छ ।
भाषाशास्त्री प्राध्यापक योगेन्द्र यादव मातृभाषापछि समुदायमा बढी बोलिने भाषालाई दोस्रो भाषा उल्लेख गर्न सकिने बताउँछन् । 'दोस्रो भाषा व्यापक सञ्चारका लागि प्रयोग गर्छौं', देश संघीय संरचनामा जाँदा सम्पर्क भाषाका रुपमा जनगणनाको लगतमा उल्लेख दोस्रो भाषा हुनसक्ने उल्लेख गर्दै भन्छन्- 'त्यसैले व्यापक सञ्चारको भाषालाई दोस्रो भाषा लेखाउन उपयुक्त हुन्छ ।'
तथ्याङ्क विभागका उपमहानिर्देशक विकास विष्टका अनुसार सबैभन्दा बढी बोलिने भाषालाई दोस्रो भाषा र व्यक्तिले दिएको विवरणअनुसार थर, धर्म उल्लेख गरिनेछ ।
प्रकाशित मिति: २०६८ अषाढ ४ ०५:३०
Last edited: 18-Jun-11 10:58 AM
Source: EKANTIPUR.COM
Raj Sharma Banjara
Last edited: 18-Jun-11 11:01 AM
नेपाली भाषा र हिन्दु धर्म प्रति तस्तो बित्रिसना भय सामाजिक ठाउमा, तिमि हरुको भासन मा पनि नेपाली नबोल, आफ्नो सम्मान खोज्ने अरु लाई सम्मान गर्न सक्नु पर्छ ,तिमीहरु नेपाली नबोली यक दिन होइन यक पल पनि सक्दैनौ बस्न, राजनीतिक नाटक को लागि मात्र खुब नारा हुन् यी सबै....जय नेपाल, जय नेपाली भासी...