"के रे? पत्याए त तिनीहरुले?" जिम्माल बालाई बिश्वास लागिरहेको थिएन।
"किन नपत्याउनु नि, मैले भनिसकेपछि" पून्टे दाईले छाती ठुलो पार्दै भन्नु भयो।
"फेरि भन त, के भन्यौ तिनीहरुलाई?" जिम्माल बाको अनुहार खुशिले खूब चम्किलो देखिएको थियो त्यो अध्याँरोमापनि।
"म त्यहाँ गए अनि ती मुखियाको अगाडी गोडा चार एक सयको नोट फ्यालेँ अनि तिनलाई थर्काएँ 'तिमीहरुलाई अलिकति नि लाज छैन? त्यसै हाम्रा गाउँका जिम्माललाई दोष लाउँछौ? तिनको त्यो ओढ्ने अस्ति राती जंगलमा शिकार खेल्न जाँदा हराएको थियो, त्यहिँ कसैले भेट्यो होला अनि हामीलाई फसाउन त्यो बाँसघारीमा छोडेर गयो नि' भने" पून्टे दाईले सबिस्तार बयान गर्नुभयो।
"अनि अनि?" जिम्मालबाले अलि अघि सर्दै उत्सुक्ताका साथ सोध्नुभयो।
"अनि के हुनु नि? ति मुखियाले त्यो सबै पैसा बटुले अनि मलाई हात जोड्दै माफी मागेर सबै पैसा फिर्ता गरे नि, हैन त नमे?" छेउमा बसेको नमेको तिग्रामा प्याट्ट पिट्दै पून्टे दाईले भन्नु भयो।
नमेलाई अलि दुखे जस्तो लाग्यो, आफ्नो तिग्रा सुम्सुम्याउदै उस्ले केहि नबोली टाउको मात्र हल्लायो।
"अब म ढुक्क भएँ। नत्र यो बुढेसकालमा कस्तो अफ्ठ्यारो परिसकेको थियो" जिम्मालबाले लामो साँस फेर्दै भन्नुभयो।
"चिन्ता नगर्नुस के जिम्माल बा, पून्टे दाई र म यो गाउँमा हुन्जेल कसैले हामीलाई औँला ठड्याउने साहास गरेछन् भने त के र" नमेले आफ्नो छेउमा राखेको २-३ वटा बोतल मध्य एउटा पून्टे दाईलाई टक्र्याउदै भन्यो।
"म हुन्जेल यो गाउँमा कसैको डर नमान्नुस् जिम्माल बा। जे गर्दा नि हुन्छ यहाँ, कुरो मिलाउने काम मेरो भो।" पून्टे दाईले बिर्को खोलेर एक पल्ट घुटुक्क पार्दै भन्नु भयो।
जिम्माल बाको खुशिको सिमा रहेन। उनलाई औडा भयो। कत्तिबेला घरमा गएर जिम्माल्नीलाई सुनाउँ भन्ने भयो। अनि जुरुक्क उठ्नु भयो पछि फेरि के आयो मनमा र थचक्क बस्नु भयो त्यसपछि एकछिन सोचेर भन्नु भयो, "लौ मलाई सार्है खुसि लाग्यो, भोली चौतारीमा भोज गर्नुपर्छ। दशैँपनि आइसक्यो, यसो चौतारीमा सबैलाई दशैँको भोजपनि हुने मलाई मनको शान्तीपनि। लौ पून्टे र नमे तिमेरु चाँजो पाँजो मिलाओ"
"ल ल भैहाल्छ नि। बरु एउटा ठुलो खसिपनि ढाल्नु पर्छ अनि चिउरा, मासु खानुपर्छ" पून्टे दाईले सहि थप्नुभयो।
त्यत्तिकै मा पछाडी झाडीमा खस्याक खुसुक गरेको आवाज आयो। नमे झसङ भएर पून्टे दाई र जिम्माल बाको नजिक बस्यो।
"के भो तलाइँ? किन घुस्रेको बिचमा?" पून्टेदाईलाई अचम्म लागेछ।
"होइन केहि होइन, उ त्यहाँ झाडीमा खोइ के हो कुन्नि" झाडी तिर देखाउदै नमेले भन्यो।
"ए कसैले हाम्रो चियो त गरेका छैनन्, ल त हेरुम त्यहाँ" पून्टे दाई झुरुक्क उठेर त्यहाँ जानु भयो।
"ए यहाँ त कालो खसि पो छ त, कहाँबाट आएछ?" पून्टे दाईले झाडी बाट कराउनु भयो।
नमे हत्तपत्त दौडेर झाडी तिर गयो अनि त्यो कालो खसिलाई च्याप्प समातेर बाहिर निकाल्यो।
"ओहो! कस्को खसी हराएर यहाँ सम्म आइपुगेछ। लौ यस्लाई कतै बाँधेर राख्नु पर्ला अनि भोली गाउँमा सोध्नु पर्यो कसैको हराको छ कि भनेर।" जिम्माल बाले भन्नु भयो।
"यो त पक्कै पल्लो गाउँतिर को हुनु पर्छ नत्र कसैले मेला बाट किनेर ल्याउँदा फुस्केर हरायो होला अनि बाघले खायो भनेर छोडे होलान्" नमेले खसीलाई कस्सेर समात्दै भन्यो।
"ल ल जे भएपनि यस्लाई कतै बाँधेर राखुम अनि भोली गाउँमा सोधेर जस्को हो उसैलाई दिनु पर्छ" जिम्माल बालाई त्यो खसी धनिको त्यसै माया लागेर आयो।
"लौ जिम्माल बा पनि कुरै नबुझ्ने! झन भोली भोज खाने भनेर सल्लाह भएको बेला यसरी खसिनै आफ्नो अगाडी आएर मलाइ काट मलाइ काट भनिरहेको बेलामा पनि गाउँमा लगेर कसैलाई बुझाँउछन् त?" नमेको दिमाग पुरै घुमेछ।
"हुन्न हुन्न त्यस्तो गर्न हुन्न! आज बल्ल बल्ल बाँस को लफडा सकिएको छ फेरि अर्को लफडा हुन्छ" जिम्माल बालाई नमेको कुरा अलिकत्ति पनि मन परेन।
"हत्तेरी जिम्माल बा पनि! त्यत्रो तपाईँको ओढ्ने भेटिएको ठाउँमा त कुरो मिलाएर आइयो। अब यो झाडीमा भेटिएको खसिको बारेमा कस्ले सोध्ने? जस्को हराएको भए नि यतिबेला सम्म बाघले खाइसक्यो भनेर चूपलागेर बसेका होलान्।" नमेले जिम्माल बालाई सम्झाँउन थाल्यो।
"नमे ले कुरो त ठिकै गर्छ कहिले काँहि। अब यो बेलामा हराएको खसि कस्ले पो भेट्छु भन्ला र? सित्तैमा खसि भेटिएको बेलामा भोली राम्ररी भोज खानुपर्ला जस्तो त लाग्छ, तरपनि कता कता मलाईपनि जिम्माल बाको कुरो ठिक लागेको छ नमे।" पून्टे दाईले पनि अलि संकोच माने झैँ गर्नु भयो।
"लौ यस्को जिम्मा मैले लिने भएँ। यदि कोहि आएर सोधखोज गर्यो भने त्यस्को जिम्मा मेरो भयो। तर तपाईँहरुले मलाई साथ चाँहि दिनु पर्छ।" नमेले सबैलाई चूप लाउने हिसाबले कुरा गर्यो।
"लौ त अब मैले के भन्ने, तिमिहरु जे भन्छौ अब उसै गर्नै पर्यो नि" जिम्माल बा ले हार माने।
"ल भोली बिहानै आएर मास्टर्नी नानीको घरबाट हतियार ल्याउनु पर्यो, मेरोमा ठुलो खँड्कुलो छ त्यसैमा पानी तताउने। अरु सानो तिनो सामानहरु धोबिनीको बाट लिएर आउनुपर्छ।" पून्टे दाईले प्रोग्राम बनाउनु भयो।
"ल त्यसो भए अब घर जाऔँ" जिम्माल बा अलि थाके जस्तो लाग्यो।
"ए नमे तँ आज म सङ्गै बस। भोली बिहानै काट्ने सर्दम मिलाउनु पर्छ, अलि छिटै उठ्नु पर्छ" पून्टे दाईले नमेलाई सङ्गै लिएर घर तिर जानुभयो।
भोलि पल्ट बिहानै सबैजना चौतारीमा आइपुग्नु भएछ। नमेले सबै सामानहरु ठिक्क पारिसकेको रहेछ। जिम्माल बा हत्तियारमा साँध लाउदैहुनुहुन्थ्यो, पून्टे दाई खांड्कुलोमा पानी तताएर बस्नु भएको रहेछ।
"लौ कैले आइपुग्यो! अब खसि छ्याप्प पारिहाल्नुपर्छ" नमेले पर बाट आउदै गरेको कैलेलाई देखेर भन्यो।
"ल ल सब ठिक पार" पून्टे दाईले नमेलाई अर्हाउनुभयो।
सबै मिलेर खसि काट्ने काम भयो अनि एकैछिनमा अघिको जिउदो कालो खसी पकाउन तयार भयो।
अनि मिस, ठुली, तितौरी र सान्नानी आएर पकाउन शुरु गरे।
केटाहरु भने बसेर तास खेल्न शुरु गरे। छिन छिनमा मिसले सबैलाई भुटुवा मासु दिनुहुन्थ्यो। त्यसरी पुरै दिन एकदम राम्रो गरेर बित्यो।
"ल एकदम राम्रो भयो आजको भोज। यो नमेलाई चाँहि धन्यवाद दिनुपर्छ। यसले निकै ठुलो आँट गर्यो हिजो बेलुका नत्र भोज यति राम्रो हुने थिएन।" पून्टे दाईले सबैको सामुन्ने नमेको बयान गर्नु भयो।
नमे मख्ख पर्यो। मिस, तितौरी, सान्नानीहरुले नमेले के आँट गरेछ भनेर पत्तो पाएनन्।
"अब सबैजना घर जाने, अनि यो खसिको खुट्टा चाँहि नमेलाई दिनु पर्छ। यसले घर लगेर खुट्टाको झोल तात्तातो बनाएर खान्छ" पून्टे दाईले खसिको खुट्टा एउटा झोलामा पोको पारेर नमेलाई दिनुभयो।
सबैजना आ-आफ्नो घर तिर लागे।
नमे खसिको खुट्टा लिएर घर तिर गयो। घर पुगेर यसो हेर्यो, घरमा कोहि पनि छैनन्। अनि के भएछ भनेर बाहिर निस्कियो। परबाट आउँदै गर्नु भएको उसको बा र आमालाई देखेर उ उहाँहरुको नजिकै गयो।
"लौ! तँ कहाँ हराएको थिइस हिजो?" बा ले उसलाई सोध्नु भयो।
"अँ म हिजो पून्टे दाईको मा थिएँ" नमेले भन्यो।
"कस्तो मान्छे होला! हिजो देखि आफ्नो त्यो दशैँको लागि भनेर किनेको कालो खसि कहाँ हरायो हरायो। खोज्दा खोज्दा हैरान भैसकियो" बा ले चिन्तित हुदै भन्नु भयो।
नमे झसङ्ग भयो अनि आफ्नो हातमा बोकेको खसिको खुट्टा पछाडी लुकाउँदै खुइया गर्दै भन्यो, "हत्तेरी त्यो त आफ्नै खसि पो परेछ।"
समाप्त।(:P)
*******************************************************************
(बिशेष धन्यवाद नमे र उसको कालो खसिलाई!........... दशैँको धेरै धेरै शुभकामना)