पानी, आगो र पानी
"कति चुईन सक्या हो त्यस्का बाउको झोल पनि।" भाउजु कराउँदै पालि तिर लागिन। कुँडे बोकेर हुँदो हो। पानी झम झम पर्दै थ्यो।
"राँडको थुतुनो जसरी हात पनि चले त बेलैमा खान पाईन्थ्यो होला नी भात पनि" टेक बहादुरदाईले आफ्नो सुन्नेको खुट्टा हेर्दै भाउजुले नसुन्ने गरी भन्या थे तर सुनीछन।
"आफ्नो नी आफ्नो? हात गोडाँ किरा परीहाले ---- ट्वार ट्वार भ्यागुतो जस्तो बास्यो दिन रात सुकुल माड्यो त्यत्ति हो।" भाउजुले झर्किदै सुनाईन पालीबाट फर्किदा।
टेक बहादुर दाई र भाउजुको बोली उत्तिकै तिखो थ्यो। उनीहरु नबाझेको दिनै थिएन। तर कुटाकुट गरेको चैं देखिएन।
टेकदाई थला परे देखी भाउजुलाई कामको चटारोले नराम्रो गाँजेको थ्यो। त्यसमाथि फेरी मेरो जिम्मेबारी छुट्टै। गाई बस्तु, घरको धन्दा, दाईको सुसेल्को --भाउजुलाई भ्याई नभ्याई थ्यो। सघाउने घरमा दाई भाउजु छोडेर बाँकी उही एकजना। उस्लाई आँखा झिमिक्क गर्न नहुने। अन्तै जान्छु त मैले भनेकै हो भन्नलाई --हुन त "हुन्छ्" भनेकै भए पनि एउटा न एउटा निउँमा बसिन्थ्यो बस्नलाई तर झन "पर्दैन" भने ढुक्कै भयो।
म टेकबहादुर दाईको घराँ बस्या थें, नजिकैको बिद्यालयमा पढाउँथे। पूर्बी पहाडको त्यो गाउँ बिकट भए पनि मनमोहक थ्यो। टाँकीका हाँगा छिमल्दै थिए अरे अस्ति टेकदाई, हाँगा सँग संगै ओईरीएछन्। दाईने हाताँ काम्रो बाँधिरथे। दाईने खुट्टो सुन्नीएर ह्याँमानको भैरथ्यो। के के जाति हो दिनभरी दलिरन्थे। झारपातको रसाँ खुट्टो हरियै देखिन्थ्यो।
"हांगा छिमल्दा हाँगै हेर्या भए पो -- पधेंरामा आईमाईहरु हेरेर हाँगा छिमलेसी त्यस्तै त हुन्छ त" भाउजुले एइया र मरें मरें भन्दै गरेका टेकदाईलाई हेरेर त्यो दिन त्यस्तो प्रतिकृया दिएकी थिईन।
दुख्या तोडाँ त्यतिबेला टेकदाईको मुखाड गाली बर्खाको खोल्सो झै उर्लेको थियो उर्लिनलाई, भाउजुलाई बगाउन तर के सक्थे?
"राँडीलाई पनि थुम्के धारो छोडेर यतैको धाराँ गाडछन सधैं" भाउजु जोस्सीन।
मैले अनि भरे भरे "हन हेर्या त पधेंरै तिर हो कि क्याहो त हउ टेकदाई?" भनेर सोध्दा हुँदी "अब रुख चढियो रे भन्दैमा आँखा चिम्लन त भएन नी" भनें।
"अनि अघि भाउजुले भन्या को आउने हो थुम्के धारा छोडेर यताको धाराँ?" भनेर कुरा उप्काउँदा भाउजु छिन कि नजिक कतै भन्दै चाल बुझ्दै "त्यो माईला पण्डीतको छोरी मलाई दिने सोच राखीरान अरे भन्ने हल्ला सुनेको दिन देखी आज एक कोरी बर्ख भो मन ठेगानमा छैन। हल्लाको भर परेर हुन्थ्यो के त? आखिराँ माथ्लो टारका जेठा पुरेतका साईलोलाई दिए। जन्ति माई गैयो आफु त त्यस्को। त्यै झोकाँ गर्न त गरियो आफुले नी बिहे तर ---" त्यो टाँकीको रुखाड झर्या दिन साँझ टेकेदाईले बिस्तारै सुनाईरथे मलाई।
एक छिन भो पानी घरी घरी झन जोड सँग दर्केको---मन खहरे बनेको अहिले हैन।
"कान्छी-- ए कान्छी! हन कता मरी हँ यो? -- "
टेकेदाई कराए।
"गाडे होलान नी फेरी त्यै लछ्या घराँ। अलछिनाको पनि अचेल चाल माल ठिक छैन।" भाउजु पनि कराईन।
बाहीर पानी अरु दर्किंदै थ्यो।
"कान्छी!" टेकदाई र भाउजुले आवाजको मात्रा बढाएर पालै पालो बोलाए।
"कराएरै मर्छन हउ हाम्रो घराँ चैँ" छिनेको टाँक खोज्न भ्याईन कान्छिले -- हतारमै निस्की उ मेरो कोठाबाट।
*************
पुर्बी पहाडमा म केही दिन बस्दा यही कथा चलेको थ्यो। त्यो मास्टरको ठाममा आफैलाई राख्दें मैले। कथै त हो।