मञ्चमा कमरेड प्रचण्डका पिता
कृष्णज्वाला देवकोटा
जेठ १९ गते काठमाडौंमा सम्पन्न माओवादीको ऐतिहासिक जनसभामा माओवादी अध्यक्ष कमरेड प्रचण्डका पिता मुक्तिराम दाहाललाई मञ्चमा बोलाइयो । मुक्तिरामलाई सम्भवतः 'प्रचण्डको प्रतीकात्मक प्रतिनिधि'का रूपमा प्रमुख वक्ताभन्दा पनि पछि मञ्चमा निम्त्याइएको थियो । उहाँलाई त्यहीअनुसारको सम्मान पनि दिइयो । भादगाउँले टोपी लगाएका वृद्ध तर हट्टाकट्टा मुक्तिरामले अरू कमरेडहरूसँगै जोशिलो मुठ्ठी उठाएर जनसमुदायको स्वागत गर्नुभयो ।
मुक्तिरामसँग देशले सिक्नुपर्ने धेरै कुरा छन् । कास्कीको ल्यावडे फेदीबाट चितवन झरेका यी मेहनती किसानले देशलाई हानि हुने केही गर्नु भएन । उहाँ भारदार भएर कुनै दरबारका पटाङ्िगनीमा शिर झुकाएर उभिनुभएन । पञ्च भएर देश दुहुन हिँड्नु भएन । जीवनका धपेडी र निम्न मध्यमवर्गका दैनिक समस्यासँग हार खानुभएन । सन्तानलाई उचित शिक्षा-दीक्षा दिनुभयो र आफ्ना पौरखी पाखुरा बजारेर मेहनतको दुई छाक जुटाउनुभयो । उहाँ कर्मयोगी नेपाली किसानका प्रतिनिधि पात्र हुनुहुन्छ । छोरा पुष्पकमल दाहालमा परिवर्तनको यति ठूलो आवेग र हिम्मत रोप्न उहाँको पनि प्रत्यक्ष-परोक्ष भूमिका पक्कै होला । तर माघ १९ गते उहाँलाई यी गुणभन्दा पनि 'प्रचण्डको प्रतिनिधिका रूपमा' मञ्चमा निम्त्याइएको हो भने माओवादी कमरेडहरूले क्रान्ति, प्रचण्ड र मुक्तिराम सबैमाथि अन्याय गरे भन्नुपर्ने हुन्छ ।
त्यसो त अहिले सिंगो नेपाल प्रचण्डको प्रशंसा गर्ने होडमा छ । आखिर शक्तिपूजा नेपाली समाजको 'संस्कृति' हो । हिजोसम्म जो माओवादीलाई 'आपराधिक गिरोह' र प्रचण्डलाई त्यसको 'डन' भन्दा बढी ठान्दैनथे, आज ती प्रचण्डको महिमागानमा सबैभन्दा अगाडि छन् । हिजो जसलाई प्रचण्डको टाउकाको सबैभन्दा व्यग्र प्रतीक्षा थियो, आज तिनै प्रचण्डलाई आफ्नै हातले माला उनिरहेका छन् । आत्मगौरवको यो क्षणमा माओवादी कमरेडहरूले आफ्ना अध्यक्षप्रति भावुक श्रद्धा देखाउनु अस्वाभाविक होइन । तर, श्रद्धाको सीमा कहाँ समाप्त हुन्छ र व्यक्तिपूजाको सीमा कहाँबाट सुरु हुन्छ, संसार बदल्न र नयाँ संस्कृतिको जग बसाल्न दस-दस वर्षसम्म आत्मबलिदानको आगोमा नुहाएका जोदाहाहरूले यति जानकारी त पक्कै राख्नैपर्छ ।
प्रचण्ड अब एउटा नेतामात्र हुनुहुन्न । वैचारिक विमति राख्नेले पनि यति त स्वीकार गर्नैपर्छ, उहाँ एक्काइसौं शताब्दीको विश्व राजनीतिको एउटा सग्लो कीर्तिमान हुनुहुन्छ । दक्षिण एसियाली सोभियत फेडरेसनपछि विश्व सोभियत फेडरेसनको सपना संसारका माओवादीले नेपालकै माओवादी जनयुद्धका बलमा देखेका थिए । सपना नै सही, संसारमा पहिलो पटक एउटा सपनाको लगाम नेपालका हातमा थियो । रुसको बोल्सेभिक पार्टीपछि नेकपा -माओवादी) नै सम्भवतः संसारको एकमात्र यस्तो कम्युनिस्ट पार्टी हो जसले संसदमा पुगेर पनि क्रान्तिकारी युद्धको बाटो सफलतापूर्वक समायो र त्योभन्दा पनि साहसपूर्वक वैचारिक रुढीलाई त्यागेर युद्धको उत्तिकै सफल लोकतान्त्रिक अवतरणमा जोड दियो । माक्र्सवादले के भन्छ, त्यसको जिम्मा कमरेड मोहनविक्रम सिंहलाई दिऊँ तर जनताका नजरमा प्रचण्ड सफल क्रान्तिका नायक हुनहुन्छ, जसले यावत् कमजोरी र हिंसाकै बीचमा इतिहासमै पहिलोपटक उत्पीडित जनताको आत्माभिव्यक्ति, आत्मगौरव र शक्तिप्रदर्शनको नेतृत्व गर्यो । संसारका अधिकांश छापामार नेताका परिवार सुरक्षित ठाउँमा विलासी जीवन बिताउँछन् तर प्रचण्डका छोरा र श्रीमतीले क्रान्तिकै मैदानमा नागरिक सम्प्रभुताको कठिन लडाइँ लडे । तर प्रचण्डप्रतिको श्रद्धा व्यक्तिपूजामा परिणत भयो भने त्यसले न आन्दोलनको भलो गर्नेछ, न प्रचण्डको, न मुलुकको । आफ्ना अध्यक्षलाई अलौकिक सरह देखाउने कार्यकर्ताको उत्साहलाई प्रचण्ड आफैंले नियन्त्रण गर्न सक्नुपर्छ ।
कार्यकर्ताहरूको नियत सफा हुनसक्छ । उनीहरूले अध्यक्षको अनुपस्थितिमा उहाँका बाबुलाई उपस्थित गराएर जनसामान्यलाई भरोसा दिलाउन चाहेका पनि हुनसक्छन् । एक किसिमले मुक्तिरामको सम्मानलाई उनीहरूले प्रचण्डकै सम्मानका रूपमा हेरेका हुनसक्छन् । आफ्ना सर्वोच्च कमान्डरप्रति तिनको यो असीम श्रद्धा हुनसक्छ । तर प्रचण्डलाई उहाँका पितासँग सीमित गरिनु क्रान्तिमात्र होइन, उहाँको पनि अपमान हो । जनयुद्धको कमान्डरका रूपमा ती सबै प्रचण्डका मातापिता हुनुहुन्छ, जसका छोराछोरी जनयुद्धमा मारिए र जो अझै युद्धको मैदानमा छन् । रोल्पा रुकुममा केही वर्षअघि प्रचण्ड आफैंले रुँदै 'अब म तपाईंको सन्तान हुँ' भनेर सहिदका मातापितालाई यो सान्त्वना दिनुभएको पनि थियो । आज जब मञ्चमा जाने बेला आयो, केबल मुक्तिराममात्र प्रचण्डका पिता र प्रतिनिधि कसरी हुन सक्नुहुन्छ ? नेपालका जति पनि माओवादी जनसेना छन्, ती हरेक कमरेड प्रचण्डका प्रतिनिधि हुन् । हरेक माओवादी आफैंमा एउटा प्रचण्ड हो । प्रचण्डका प्रतिनिधिका रूपमा बाबु वा परिवारको कुनै सदस्यको खोजी गर्ने हो भने अरू र प्रचण्डमा, अरू र माओवादीमा के फरक रह्यो ?
पत्रकारहरूको कुरा बेग्लै हो । समाचार आखिर एक किसिमका 'सिकार' नै हुन्, जहाँ त्यो सिकार हुनसक्छ, त्यो गर्नु तिनको पेशा हो । त्यसैले मुक्तिराम समाचार हुनुभयो होला तर इतिहासको तर्क अलि बेग्लै हुन्छ । इतिहासलाई लेनिनका पितामा त्यति धेरै रुचि हुँदैन, न त्यसले लेनिनको कर्म र विचारलाई पितासँग जोडेर धेरै महत्व दिन्छ । इतिहासलाई स्टालिन, माओ, चर्चिल, गान्धी वा मन्डेलाका पिता अथवा ससुरामा पनि धेरै चासो हुँदैन । कमरेड प्रचण्ड आफैं सतर्क हुनुपर्छ, एउटा वंशवृक्ष उखेल्दै गरेका हातलाई अर्को वंशवृक्ष रोपिरहेको आरोप नलागोस् । सांस्कृतिक रूपमा दिग्भ्रमित भयो भने क्रान्ति केवल मध्यमवर्गीय नाटकघरमा परिणत हुनेछ ।
.
.
.
Contd.
source: -
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=76546