भाग-९
मुटुको गति अलि कम भएपछि र सास साधारण गतिमा पुगेपछि मैले तिनै जनालाइ हकारे।
"काम छैन तिमीहरुको? झन्डै हार्ट फेल भएको।"
"काम त तिम्रो छैन जस्तो छ।" सुमिले ब्यंग गरी।
"अहिलेको जमानामा पनि बोक्सीमा बिस्वास गर्ने?" रुबिले सुमिलाइ साथ दी।
"बोक्सी हेर्न त मध्य रातमा आउनु पर्छ।" चम्पाले फेरि मलाइ उक्साउने प्रयास गरी।
"मान्छेलाइ उल्लु बनाउनु त भएन नि चम्पा!" मैले नि उल्टो चम्पालाइ दोष दिँए।
"सरी।" भनी चम्पाले।
"हैन मैले भित्तामा कान थापेर सुन्दा मान्छेहरु गुनगुन गरेको त सुनि सक्या थें।" मैले अलिकति आफ्नो कुरा पेश गरेँ।
"त्यो पछाडी पाटि छ। त्यहाँ घाम ताप्ने मान्छेहरु कुरा गरि रहन्छन्।" चम्पाले फेरि मुर्ख बनाइ मलाइ। त्यस्को कुराको पत्यार नलागेर मन्दिर पछाडी गएर हेरेको त साँच्चिकै पाटि रैछ। नभन्दै केहि मान्छेहरु गफ गर्दै रहेछन्। बेकारमा चम्पाको कुरामा लागेर मैले गल्ती गरे जस्तो लाग्यो। तर शुरु गरेको त मैले नै हो भन्ने पनि थाहा थियो।
दुइ दिनपछि रुबि स्कुल पुग्नासाथै मलाइ अङालो मार्न आइपुगी। सुमि स्कुल आइन क्यारे मलाइ त्यस्तै लाग्यो। नत्रभए उनिहरु दुइजना भएपछि त मलाइ गन्दै नगन्ने। म त्यहि भए पनि उनिहरु आफु आफु मात्र कुरा गर्ने गर्थे। "एउटा गोप्य कुरा छ।" भन्दै मलाइ तानेर एउटा कुनातिर लगी। चम्पा पनि मेरो पछि पछि आइ। अब गोप्य कुरा चम्पाले पनि थाहा पाउने भइ। रुबिको सहमतिमा चम्पा, म र रुबि भएर एउटा "गुलाफको फूल" भएको पोस्टकार्ड खोलेर हेर्यौँ। भित्र रातो अक्षरमा यस्तो लेखिएको थियो।
"पानी बिना माछा बाँच्न सक्दैन,
तिमी बिना म बाँच्न सक्दिन।"
-तिम्रो उहि मुटुको टुक्रा
प्रेम
रुबि लाजले गुलाफी हुन थाली। उसको मुटुको टुक्रा त्यो "ट्वाँ" अर्थात प्रेम रहेछ भन्ने कुरा मैले कहिल्यै सोचेकी थिइन। त्यो प्रेमलाइ हामीले "ट्वाँ" भनेर न्वारान गरेका थियौँ। केटि देख्यो कि "ट्वाँ" परेर हेरेको हेर्यै गर्ने। कहिले केटि देख्न नपाको जस्तो। रुबिको मनमा पनि "ट्वाँ" को लागि भावनाहरु प्रस्फुटन भैसकेको रहेछ। उ खुशी देखिन्थी। लजाइ लजाइ उसले मलाइ अनुरोध गरी। "यसको जवाफ कसरी लेख्ने?"
"मलाइ के थाहा?" लब गर्ने उ, उसको लब लेटर चाहि मैले लेखिदिनु पर्ने। मिल्ने कुरा गर्नु पर्छ नि। "चम्पालाइ सोध न!" मैले चम्पातिर हेरेँ। चम्पा उदास थी।
"भन न, प्लिज! तिमीहरु मेरो बेस्ट फ्रेन्ड भनेर पो सोधेको अरुलाइ सोध्ने कुरा हैन नि।" रुबि मस्किन थाली।
"ल, यो कबिता लेख।" चम्पाले सिकाइ।
The mountain is green,
The sky is blue.
I have one love,
That is you."
रुबि दङ परी। कति राम्रो कबिता त्यो पनि इङ्लिशमा। हतार हतार उसले कपीमा सारी र भरै उ पनि पोस्टकार्ड किनेर "ट्वाँ"लाइ जवाफ लेख्ने भै। उसको मतलब सकिएपछि उ चम्पा र मलाइ छोडेर कक्षातिर गइ।
"आज किन तिम्रो अनुहार उदास देखिन्छ नि।" मैले चम्पालाइ सोधेँ।
"जिन्दगीको पहिलो ट्र्याजिडी परेको दिन अनुहार उदास नभए कस्तो हुन्छ त?" चम्पाले झर्केर भनी।
"ट्र्याजिडी रे?" मैले बुझिन।
"अस्ति भर्खर "ट्वाँ"ले मलाइ पनि "पानी बिना माछा बाँच्न सक्दैन, तिमी बिना म बाँच्न सक्दिन भनेर "मुटु" भएको पोस्टकार्ड दिएको थियो।" चम्पाले अन्त्यमा सुस्केर हालेर भनी।
"अनि मैले पनि "the mountain is green, the sky is blue, I have one love, that is you." भनेर जवाफ दिँए।"
"अनि....?" मलाइ अचम्म लाग्यो। त्यो "ट्वाँ" ले जसलाइ पनि "पानी बिना--- " भनेर चिट्ठि लेख्दो रहेछ। अरुको चोरेर लेख्या होला।
"अनि के नि? आज रुबिलाइ नि त्यही भनेर लेखेछ मोराले।" चम्पालाइ रिस पनि उठेछ। "काले, गधा" के के भनेर सराप्न थाली।
"छोड्दे त्यस्तो केटालाइ, जुन केटिलाइ पनि "ट्वाँ" परेर हेर्ने केटा पनि के मन पर्या होला?" मैले चम्पालाइ सम्झाउने प्रयास गरेँ।
"आजको दिन नि के पढ्नु। आफ्नो मुटु टुक्रा टुक्रा भएको बेला।" चम्पा त सिरियस नैं भैसकेकी रैछे।
"स्कुलमा नपढेर के गर्ने त?" मैले सकेसम्म उस्को कुरा बुझे जस्तो नि गर्नु पर्यो।
"तिमी मेरो साँचिकै मिल्ने साथी हो?" चम्पाले धर्मसंकटमा पारी।
"कुनै शंका छ र?" मैले नि सोधेँ।
"त्यसो भए आज मलाइ साथ देउ।"
"सधैँ साथै छु।"
"आज फिलिम हेर्न जाँउ।" चम्पाको कुरा सुनेर मेरो होश उड्यो। जिन्दगीमा स्कुल बंक गरेको छैन। मलाइ त डर पो लाग्न थाल्यो।
"हँ--?" मैले केहि भन्न सकिन।
"आज फिलिम हेर्न जाँउ"। चम्पाले धेरै अनुरोध गरेपछि हामी क्लास टिचरलाइ भेट्न गयौँ।
"के भयो रे?" टिचरले सोध्नु भयो।
"उसको आँखा धमिलो भयो रे। ब्ल्याक बोर्डमा हेर्दा टाउको पनि दुख्छ रे।" चम्पाले त मलाइ पो देखाइ। हे राम! अर्को नाटक गर्नु पर्ने भयो अब।
"कुन आँखा?" टिचरले सोध्नु भयो।
"दाहिने आँखा हैन क्रेजी?" भनेर चम्पाले सोध्दा म बाँया आँखा झिम झिम गरिरहेकी थेँ।
"दायाँ कि बाँया?" भनेर टिचरले सोधेपछि मैले दुबै आँखा सानो र ठुलो पार्दै टिचरलाइ हेरेर भने "दुबै"।
१० मिनेटपछि हामी आँखा जचाउने बहानामा स्कुलबाट भागेर फिलिम हल पुगेका थिँयौ। बिदाको दिन नभएकोले टिकेट काट्न गार्हो भएन। चम्पाले पैसा टन्नै बोकेकी रैछे। फिलिम हेरुन्जेल "कोक,फ्यान्टातितौरा, चना-चटपटे " किनेर खान्दि रही। कति त्यो घोकन्ते बिध्या मात्रै सिकाउने स्कुलमा पढ्नु। मलाइ पनि त्यो दिन रमाइलो लाग्यो। फिलिम सके पछि हामीहरु हलको ढोकाबाट निस्किदै थियौँ। हाम्रो ठिक अगाडी एकजना लोग्नेमान्छे र आइमाइ हात समातेर हलबाटै निस्कीरहेका थिए। चम्पाले आँखाको इशाराले मलाइ "हेर" भनेर देखाइ। हात समातेर हिँडेको देख्दा हिरो हिरोनी जस्तो लाग्यो मलाइ पनि। चम्पा र म उनिहरुको पछि पछि हिँड्दै थियौँ। अचानक मलाइ त्यो लोग्नेमान्छे चिनेको चिनेको जस्तो लाग्न थाल्यो। हामी उनिहरु भन्दा छिटो छिटो अगाडि हिंड्यौ। अलिक पर पुगेपछि चम्पा फेरि चुइङ्गम किन्नलाइ नजिकैको पसलमा गइ। म त्यहिनिरको पेटिमा बसेर हेरिरहेकी थिँए। अघि हात समातेर हाम्रो अघि हिँड्ने लोग्नेमान्छे र आइमाइलाइ मैले नियालेर हेरेँ। त्यो मान्छेले लाएको कालो शर्ट कतै देखेको जस्तो लाग्यो। हिँडाइ पनि चिने चिने जस्तो लाग्यो। उनिहरु नजिकै आइपुग्दा मेरो सातो गयो। त्यो मान्छे सानुको मामा थियो। तर त्यो मामा जत्रै हाइट भएकी हँसीली देखिने आइमाइलाइ मैले चिनिन। मलाइ मामाले देख्नु होला भन्ने डर। स्कुलको ड्रेसमा फिलिम हेर्न आको थाहा पाउनु भयो भने घरमा कुरा लाइदिनु हुन्छ भन्ने पीर हत न पत्त म पनि चम्पा चुइङ्गम किन्न गएको पसलतिर दौँडे।
क्रमश:
Last edited: 21-Oct-09 05:50 PM