नेपालीमा एउटा उखान छ– ‘एक धार्नी चाकु खाए पनि चाकुको स्वाद थाहा नपाउने ….!’ नेपालको राजनीतिक डबलीमा राजनैतिक दलका नेता र कार्यकर्तासमेतलाई नेपालको राजनैतिक क्षेत्रमा विदेशी कुटनैतिक गतिविधि थाहा नहुँदा वा नबताउँदा अनेक असमझदारी आज पनि विद्यमान छन् ।
वि.सं. २०१५ सालको पहिलो महानिर्वाचनको दुई दिन अगाडि कम्युनिष्ट पार्टीले निकालेको काठमाडौंको जुलुस र पुष्पलाल, तुलसीलाल वा कम्युनिष्ट पार्टीप्रति काठमाडौंका जनताको समर्थनदेखि डराएर सोभियत राजदूतबाहेक त्यही रात संरा अमेरिका, बेलायत, भारत र पुँजीवादी देशका राजदूतहरू दरबार पुगे । काठमाडौंमा कम्युनिष्टहरू जितेमा देशभर कम्युनिष्टहरूको प्रभाव बढ्नेबारे राजा महेन्द्रलाई सचेत पारे । बर्लिनलाई पूर्वी जर्मनी वा कम्युनिष्ट जर्मनीमा पार्दा सबै जर्मनीहरूले आफूलाई कम्युनिष्ट सम्झने सम्भावनाको कारण पूर्व र पश्चिममा बाँडियो ।
यसकारण सम्भवतः के आई सिंहलाई जाने दरबारको मत गणेशमानजी (नेका) को बाकसमा खस्यो र काठमाडौंमा कम्युनिष्ट हा¥यो । गणेशमानजी आफू हार्ने निश्चित देखेर धुलिखेल पुगेका थिए । कुटनैतिक क्षेत्रको प्रभावअनुसार बीपी कोइरालाको कार्य नमिलेपछि राजा महेन्द्रको हात बलियो भयो र २०१७ पुस १ गतेको घटना घटेको एउटा विश्लेषण छ ।
नेका एक्लो हुने हुँदा भारतले पुष्पलालजीलाई पनि शरण दियो र कम्युनिष्ट आन्दोलनमा विश्रृङ्खलता सुरू भयो ।
बीपी कोइराला र अन्य नेताहरु जेलमुक्त भएपछि भारत पुगे । प्रजातन्त्र पुनःस्थापनापछि कम्युनिष्ट बलियो हुने महेन्द्रको तर्क र प्रजातन्त्र नभए रूस र चीनमा जस्तै कम्युनिष्ट बलियो हुने नेकाको विचार मन्थनमा कुटनैतिक ध्यान जानु स्वाभाविक हो ।
बीपी वा नेकाले भारतमा बसी ‘आतङ्कवादी’ गतिविधि गर्दा राजाको सम्बन्ध चीनसित बलियो हुँदै नेपालमा चीनको प्रभाव बढ्दै गएकोले नेपालभित्रै गतिविधि गर्ने र सशस्त्र होइन शान्तिपूर्णको उपाय स्वीकार्ने स्थिति देखियो । ‘बीपी कोइरालाको विवादास्पद बेलायत भ्रमण’ तथा भारतीय समाजवादी नेताहरूमाझ पनि ‘भारतीय महारानीको जेलभन्दा नेपालको राजाको जेल उपयुक्त’ हुने भन्ने चर्चा चल्यो ।
नेकाले पञ्चायतविरोधी रणनीति लियो र कार्यनीतिमा हेरफेर ल्याएको बतायो । पञ्चायती खेमामा हिन्द महासागरमा बीपी नामको माछालाई समात्न नसक्ने हुँदा रानीपोखरीमा ल्याउने उपाय बताइयो । बीपीले राजाको गर्दनभन्दा आफ्नो गर्दन माथि बताए । राजनैतिक मुद्दा चल्यो तर पछि बीपीलाई छाडियो । मेलमिलाप एक–दुई वर्ष ढिलो भएको भए वा छिनोफानोको सङ्घर्ष भएको भए परिणाम कस्तो हुनेथियो – छलफलकै विषय हो ।
बीपी भारत प्रवासमा हुँदा पत्रपत्रिकाले नेका र बीपीबारे नलेख्नु, पाठ्यपुस्तकमा त्यसबारे उल्लेख नहुनु, ट्रलीबस सेवाबाट जनतामा चीनको प्रभाव बढ्नु र अन्य कलकारखाना चीनको सहयोगमा स्थापना हुनुले नेपालमा उत्तरको प्रभावका कारण वामपन्थीहरू बढेको अनुमान भारत र पश्चिमाहरुको थियो ।
परिस्थितिले जनमत सङ्ग्रह घोषणा गरायो । पुनः आन्दोलन सुरू भयो – नेका र वामपन्थीहरूको एकतामा । पञ्चायती व्यवस्था ढल्यो र प्रजातन्त्रको पुनःस्थापना भयो ।
भवितव्य हो वा योजना, नेपाली काङ्ग्रसकै सरकारले चीनको अनुदान ट्रलीबस, छाला तथा जुत्ता कारखाना र अन्य उद्योगहरूलाई निजीकरण ग¥यो तथा विदेशीको हातमा दियो । केही व्यक्तिले नेकाले ‘मेलमिलाप’ नगरेको भए हुन्थ्यो भन्ने विचार अहिले पनि राख्दैछन् ।