लघुकथा : अठोट
- फिउल ट्यांक
उनी बिना बाँच्नै नसक्ने त कहाँ थियो र उ पनि, त्यै पनि उसले भन्यो “प्लिज, मेरो मायालाई बुझ, म तिमी बिना बाँच्न सक्दिन”.. आदि आदि | उनको मन्जुरी पाउन उसले भन्न सक्ने कुराहरु र भन्न पर्ने कुराहरु सबै भन्यो, त्यै पनि उनको पाषाण मुटु पग्लेन |
गुण्डाले हिरोनीलाई अपहरण गरेर लगेपछिको “राजेश हमाल” को जस्तो भाथ्यो उसको हालत | उसको साँचो माया थियो कि मात्र तृष्णा, उ नै जानोस, तर उसलाई न भोक लाग्थ्यो न त निन्द्रा नै | एउटा मिल्ने साथीको नाताले उसलाई सम्झाउनु मेरो कर्तब्य थियो र सोहि गरें |
“छोड्दे यार, के टेन्सन लि राखेको? आउछन् जान्छन् नि | लगाउने खुट्टा भए जाबो जुत्ता कति कति”
बिस्तारै मलाइ हेर्यो र उसले देब्रे पट्टिको गालामात्रै खुम्चिने गरी खिस्स हाँस्यो | उसको त्यो हाँसोमा एउटा आठोट थियो, राम्रो खुट्टा बन्ने |
अघिल्लो हप्ता उसलाई हाकिम चोकमा भेटेको थिएँ | एउटी सार्है राम्री केटिसंग थियो | गोरो छाला, कालो कपाल, छिनेको कम्मर, मिलेको जिउ.. त्यो भन्दा धेरै मैले याद गरिन |
“तेरी हुनेवाली भाउजु ” उसले परिचय गरायो | तरकारीको कालो झोला झुन्डिरहेको हात जोडेर नमस्कार गरें | केहिबेरको गफ-गाफ पछि हामी छुट्टीयौं |
फेरी आज पनि नारायणघाटमा उसलाई भेटें | उ “भाउजु” संगै थियो | कति फेशन गर्दी रैछिन भाउजु पनि, आज उनको कापल पुरै रातो थियो र अघिल्लो हप्ताकि भन्दा धेरै राम्री, अनि थोरै फरक | सामान्य कुराकानी पछि हामी छुट्टीयौं |
छुट्टिने बेलामा उनले नबुझ्ने भाषामा उसले भन्यो “नयाँ जुत्ता” |
सानो छोरोकोलागि भर्खर किनेको नयाँ जुत्ता तिर हेरें र सोचें, “के त्यो उसको प्रश्न थियो या अभिव्यक्ति” |