नेकपा (माले)को भूमिगत सङ्गठनकाल (२०३५-०४६)मा पार्टीकै व्यवस्थापनमा थुप्रै नेता-कार्यकर्ताको जनवादी विवाह भएको सम्झ्ना मेरो मानसपटलमा ताजै छ। ती विवाह सजातीय, अन्तरजातीय र असमान वर्गबीच भएका थिए। पार्टीको केन्द्रीय नेतृत्वमै सीपी मैनाली-सीता खड्का, झ्लनाथ खनाल-रवि चित्रकार, ईश्वर पोखरेल-मीरा ध्वजु, केपी ली-राधा शाक्य, अमृत बोहोरा-अष्टलक्ष्मी शाक्य, वामदेव गौतम-तुलसा मगर, अशोक राई-सुशीला श्रेष्ठ, शङ्कर पोखरेल-सुजिता शाक्य, गोपाल शाक्य-शारदा कोइराला, रणध्वज लिम्बू-सीता पुन मगर आदिको अन्तरजातीय विवाह भएको थियो।
अञ्चल र जिल्लास्तरमा पनि भूमिगत र खुला रूपमा यस्ता थुप्रै विवाह भए, अहिले पनि हुँदै छन्। एकाध अपवादबाहेक ती सबै विवाह सफल र मर्यादित बनेका छन्। मनमोहन अधिकारी र साधना प्रधानबाट शुरु भएको अन्तर्जातीय विवाह परम्परालाई एमालेले सफलतासाथ अघि बढायो। यसरी खुला वा भूमिगत रूपमा माले, एमालेसहित अरू कम्युनिष्ट पार्टीका अन्तरजातीय र असमान वर्गीय विवाहहरू सार्थक हुँदै आएको पृष्ठभूमिमा आफूलाई अझ् क्रान्तिकारी ठान्ने नेकपा माओवादी पार्टीभित्र युद्धकालका क्रान्तिकारी विवाह भने विवाहको नाममा कलङ्क हुँदैछन्। यस्तो किन भयो? यसका वस्तुगत, मनोगत र व्यावहारिक कारणहरूको विवेचनाले हाम्रो समाजको जातीय र सांस्कृतिक विभेदमा द्वन्द्वको राजनीतिक पाठ बुझन-बुझाउन सहयोग पुग्नेछ।
विलासी मनोवृत्तिको परिणाम
नेकपा माले र एमालेको नेतृत्वले भूमिगत र खुला दुवै अवस्थामा आफ्ना नेता-कार्यकर्ताको विवाह गराउँदा सकभर परिवारसँग समेत छलफल गरेर सबै दृष्टिबाट परिपक्व सहमति बनाउथ्यो, बनाउछ। समान मानवीय मर्यादाको आधारमा यसखालका अनेक विवाह (दलित-गैरदलित जोडीका समेत)को संयोजन, परिचालन र विकासमा मैले पनि केही पहल गरेको छु। किनभने, हाम्रो बहुजातीय, वर्णवादी र विषम समाजका रुढी तथा अन्धविश्वास घटाउन यस्तो अभियान आवश्यक थियो, छ।
माओवादीको समयमा आइपुग्दा भने पार्टीले गराएका धेरैजसो विवाह सम्बन्धबिच्छेदको मुद्दामा पुगेर अड्किएको देख्न थालिएको छ। पुरुष कार्यकर्ताहरूमा गुपचुप वा खुला रूपमै दोस्रो विवाह गर्ने फेसन चलेको छ। माओवादीको चिन्तनमा रहेको उग्रवाद, व्यवहारमा रहेको अराजकता, सैद्धान्तिक प्रशिक्षणमा रहेको न्यूनता र बहुजातीय नेपाली समाजको जटिलतालाई बल प्रयोगबाट समाधान गर्न खोज्ने मनोविज्ञान यसो हुनुका प्रमुख कारणहरू हुन्।
दक्षिणएसियाको बहुजातीय जटिलता, हजारौं वर्षदेखि त्यसले निर्माण गर्दै आएको वर्णवादी सङ्कीर्ण संस्कार (छुवाछूत प्रथा) संसारका अरू महादेशमा नभएको नितान्त भिन्न सांस्कृतिक समस्या हो। आर्य, मङ्गोल, आष्ट्रिक र द्रविड समुदायका रुप, रंग, रीति, थिति, चिन्तन, संस्कार र परम्पराको लामो द्वन्द्व छ, एसियामा। शिक्षा, ज्ञान, चेतना, जागरण आदिको माध्यमबाट समाज परिवर्तन गर्ने महावीर जैन र बुद्धका समयदेखिको अभियान विश्वभरि छरिँदासम्म पनि दक्षिणएसियामा यो जटिलता उस्तै छ। खुर्पा, खुकुरी, बम, बन्दूक र सैन्य बलबाट यो समस्याको समाधान खोज्नु मूर्खता सिवाय केही होइन।
तर, माओवादीले यो जटिलतालाई चिर्न जनै-टुप्पीमा कैंची चलायो, पण्डित-पुरोहितको मुखमा जाँड-मासु कोचिदियो। मन्दिर-मूर्ति भत्कायो, संस्कृतका शिक्षकमाथि गोली चलायो। सैनिक आदेशबाट दलित-गैर-दलित, धनी-गरिब र भौगोलिक रूपमा टाढाका किशोर-किशोरीबीच बिहेबारी गरायो। पार्टीको सेना र बन्दूकको हैकम चलेका बेला यी कृत्यहरूलाई सबैले स्वीकारे जस्तो पनि देखियो। तर, समस्या समाधानका लागि अपनाइएका ती मूर्खतापूर्ण हर्कतहरूले त्योभन्दा डरलाग्दा जटिलता पैदा गरेका छन्, जसबाट माओवादी मात्र हैन पूरा नेपाली समाज विदीर्ण हुनुपर्नेछ।
संसारमा जहाँ पनि सैनिक र कैदीहरूको यौन समस्या स्वभावतः निकै जटिल विषय रहँदै आएको छ। त्यसले जन्माएका बलात्कार र समलिङ्गी सम्बन्धका घटना चर्चामा आइरहन्छन्। पश्चिमी सभ्यताका कतिपय देशले सैनिकहरूलाई सुरक्षित वेश्यागमनको छुट दिएका छन्। चीन, कोरिया अतिक्रमण र त्यसपछि दोस्रो विश्वयुद्धताका पनि जापानी सेनाले चीन, कोरिया तथा दक्षिणपूर्वी एसियाली देशहरूका लाखौं महिलालाई यौनदासी बनाएकोमा जापानले अहिले पनि औपचारिक क्षमायाचना गरिरहनुपरेको छ। सेनामा मात्र हैन, यो समस्या साधु, महन्त, पादरी र भिक्षुहरूमा पनि रहेको बेला-बेला सार्वजनिक हुने यौन काण्डहरूले देखाउँछन्।
माओवादी पार्टी र त्यसको सैनिक संरचना भूमिगत रहेको बेला नेता र तिनका छोराछोरीहरूले सङ्गठनभित्रै विवाह गर्न थाले। पुरुष र महिला सैनिकलाई नजिक पारेर राखेको र खासखास अगुवालाई सुरक्षित यौन सम्बन्धको छुट दिइएको चर्चा उतिबेलै पनि चल्ने गरेको थियो। र, आफूलाई अनुकूल नहुँदाका बेला वा नभएका व्यक्तिसँग रिसइबी साँध्नका लागि नेतृत्वले तीसँग सम्बन्धित यौनकाण्ड उचालेर कारबाहीहरू पनि भएका छन्। जनयुद्धको अवधि लम्बिँदै गएपछि कतिपयलाई पार्टीले विवाह गरिदियो। कतिले आफूलाई मनपरेकी महिला सहकर्मीलाई विवाह गर्न पार्टीमा निवेदन हालेर अनुमति लिए।
विवाहलाई विलासको रूपमा बुझेकाले हुनसक्छ, पार्टी नेतृत्वले दलित र गैर-दलितबीच पनि हतपते विवाह चलाउँदै गयो। यसरी दोहोरो हार्दिकता र सुविचारित योजना विना बनेका परिवारहरूमा पार्टी खुला हुनासाथ असन्तुष्टि बढ्नु अस्वाभाविक भएन।
सङ्गठन र सङ्घर्षको क्रममा सर्वहारा वर्गको भनिएको पार्टी खुला भएपछि भूमिगतकालमा सञ्चित गरेको राशी र सत्तासीन भएर कमाएको धनले एमाओवादीभित्रै वर्गीय असमानता चुलिएको छ। नाइके-नेता र गैर-जिम्मेवार मनोवृत्तिका कार्यकर्ताहरू भूमिगतकालमा स्वार्थवश गरेको विवाह बन्धन तोडेर रुप, धन, कुल, वर्ग समेत मिलाएर पुनर्विवाह गर्न उद्यत भएका छन्। त्यसबाट आमा बनेका माओवादी महिलाहरूलाई बिचल्लीमा पारिएको छ। यस्तो धोकाघडी र अभावका बीच संभवतः तिनीहरूको आक्रोश बढ्दो छ।
एमाओवादीमा जातीय भन्दा वर्गीय र वर्णगत (जातभात-छुवाछूत) समस्याले बढी विवाह भत्केको हुनुपर्छ। भूमिगतकालमा धन बटुलेका तलका कतिपय कार्यकर्ताको चुरीफुरी र खुला भएपछि मन्त्री, सभासद् भएका वा अन्य राजनीतिक नियुक्ति पाएकाहरूको विलासी जीवन अहिलेको एमाओवादीमा हेर्नलायक छ। यस्तो स्थितिमा विवाह सम्बन्ध तोडिएर आँसुमा डुब्नेहरूको सङ्ख्या बढ्छ नै।
एमाओवादी नेताहरूको जीवनशैली अत्यन्त विलासपूर्ण बनेको सबैले देखेकै छौं। राजधानी बाहिर हवाईजहाज नबस्ने जिल्ला जानुपर्यो भने हेलिकोप्टर भन्दा तलको यात्रा कम हुँदै गएको छ। सर्वहारा पार्टीको बैठकलाई रिसोर्टबाट तारे होटलतिर सार्न थालिएको छ। एमाओवादीको अस्थिर, चालबाज र विलासी नेतृत्वले पार्टीभित्र विवाह विघटन जस्तै अरू के-के समस्या उत्पादन गर्छ, देख्न धेरै पर्खनुपर्ने छैन।
खुला वा भूमिगत रूपमा माले, एमालेसहित अरू कम्युनिष्ट पार्टीका अन्तरजातीय र असमान वर्गीय विवाहहरू सार्थक हुँदै आएको पृष्ठभूमिमा आफूलाई अझ क्रान्तिकारी ठान्ने नेकपा माओवादी पार्टीभित्र युद्धकालका क्रान्तिकारी विवाह भने विवाहको नाममा कलंक हुँदैछन्।