बाटोमा एकजना पुराना मित्रसँग भेट भयो । लामो समय अमेरिका बसेर फर्किएका रहेछन् । उनले सोधे- ‘तपाई अझै नेपालमै हुनुहुन्छ ? किन अमेरिका नगएको ?’
मसँग जवाफ थिएन ।
वेलायत बसेर फर्किएका अर्का मित्रले साँझपख भेट हुँदा छक्क पर्दै भने -’अरे ! तपाइ नेपालमै ? वेलायत-अमेरिका किन नगएको ?’
मसँग जवाफ थिएन ।
जापानबाट फर्किएका अर्का मित्रले उपेक्षापूर्वक भने -’अझै नेपालमै छौ ? विदेश गएनौ ?’
कतारबाट फर्किएका एक नातेदारले सोधे -’कहिले र्फकनुभो ?’ मैले कुरा बुझिहालें । झर्किएर भनें-’म विदेश गएकै छैनभने कहाँबाट र्फकनु ?’
विदेश ! विदेश !! विदेश !!! के जवाफ दिने ? म त हैरानै भएँ । त्यसैले जसलाई भेटे पनि उसले सोध्न नपाउँदै आफैले सोध्न थालें-’तपाईं किन अझै विदेश नगएको ?’ यो प्रश्न सोध्दा जसले पनि एउटै जवाफ दिए -’भीसा पाए त गइहाल्थें नि !’ जसले पनि भीसा नपाएर विदेश नगएको बताएपछि मलाई सडकमा हिडिरहेका जसको अनुहार पनि भीसा पाउन दिइएको निवेदन जस्तो लाग्न थाल्यो । भीसा नपाउने मानिस मात्र यो देशमा छन् जस्तो लाग्यो ।
मैले एउटा रुखलाई सोधें-’तिमी किन विदेश नगएको ?’ रुखले भन्यो -’भीसा पाए त गइहाल्थें नि !’ ढुंगालाई सोधें-’तिमी किन विदेश नगएको ?’
ढुंगाले पनि रुखकै जस्तो जवाफ दियो । एक मुठि माटो उठाएर सोध्दा उसले पनि भन्यो-’भीसा पाए त विदेश गइहाल्थें नि !’
मैले के बुझें भने भीसा पाए नेपालमा मान्छेको त के कुरा ढुंगा माटो पनि बस्नेवाला छैनन् ।
त्यसपछि मैले निर्णय गरें-म पनि विदेश जान्छु । आमालाई यो कुरा सुनाएं । मेरो कुरा सुन्दा आमाको मुहारमा यस्तो खुसी झल्कियो कि जीवनमा मैले त्यस्तो खुसी कहिल्यै देखेको थिइन । अनि एउटा मन्दिरमा गएँ । भगवानलाई ढोगेर भनें -’भगवान मलाई भीसा दिलाईदेऊ ।’
मेरो कुरा सुनेर भगवानको मुर्ती चल्मलायो । मुर्तीले भन्यो-’बरु तिमीले नै मलाई भीसा दिलाईदेऊ न !’
I loved this blog:
http://blog.himalkhabar.com/rakure/