'किन आउने?' सुशीलजीले भन्नुभो-'तपार्इँनै म कहाँ आउनोस्।'
'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो- 'म कहाँनै आउनोस्।'
'किन नमिल्ने?' सुशीलजीले बताउनुभो-'अब मिलेर जानुपर्छ।'
'मैले तपाईको डेरा देखेको छैन।' शेरबहादुरजीले भन्नुभो-'त्यही भएर मिल्दैन।'
'मैले पनि देखेको छैन।' सुशीलजीले सोध्नुभो-'तपाईको डेरा कहाँ छ?'
'बुढानीलकण्ठमा मेरो घरै छ।' शेरबहादुरजीले भन्नुभो-'जसले पनि देखाइदिन्छ।'
'टाढा रहेछ।' सुशीलजीले भन्नुभो-'यतै आउनोस्।'
'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो-'नमिल्ने कुरामा जिद्दी नगर्नोस्।'
'किन नमिल्ने?' सुशीलजीले भन्नुभो-'रामचन्द्रजीले मिल्छ भन्नु भएको छ।'
'रामचन्द्रको कुरा छाडनोस्।' शेरबहादुरजीले भन्नुभो-'मेरो कुरा सुन्नोस्।'
'तपाईको कुरा किन सुन्ने?'सुशीलजीले भन्नुभो-'कारण बताउनोस्।'
'किन भने म वरिष्ठ हुँ।' शेरबहादुरजीले भन्नुभो-'वरिष्ठले भनेको सुन्नुपर्छ।'
'कसरी बरिष्ठ?' सुशीलजीले सोध्नुुभो-'तपाईलाई कस्ले वरिष्ठ बनायो?'
'गिरिजाबाबुले।' शेरबहादुरजी भावुक हुनुभो-'हामीले उहाँको सपना साकार पार्नुपर्छ।'
'उहाँको सपना के थियो?'सुशीलजीले भन्नुभो-'मलाई प्रष्ट पार्नोस्।'
'मलाई वरिष्ठ बनाउने।' शेरबहादुरजीले भन्नुभो-'भेरी सिम्पल।'
'उहाँको सपना त्यस्तो थिएन।' सुशीलजीले भन्नुभो-'मलाई सब थाहा छ।'
'के थाहा छ?' शेरबहादुरजीले भन्नुभो-'थाहा भए भन्नोस्।'
'उहाँको सपना थियो।'सुशीलजीले भन्नुभो-'मलाई वरिष्ठ बनाउने।'
'कसरी?' शेरबहादुरजीले सोध्नुभो-'के प्रमाण छ?'
'प्रमाण म स्वयं छु।' सुशीलजीले सोध्नुभो-'पार्टी सभापति को हो?'
'स्वर्गीय गिरिजाप्रसाद।' शेरबहादुरजीले जवाफ दिनुभो-'मलाई कण्ठै छ।'
'होइन।'सुशीलजीले भन्नुभो-'पार्टी सभापति म हुँ।'
'तपाईनै हो रे।' शेरबहादुरजीले सोध्नुभो-'यसले के फरक पर्छ?'
'सभापति वरिष्ठ हुन्छ।' सुशीलजीले भन्नुभो-'संस्थागत कुरा यो हो।'
'हुँदैन।' शेरबहादुरजीले भन्नुभो-'हाम्रो पार्टीको परम्परा बेग्लै छ।'
'के छ पार्टी परम्परा?' सुशीलजीले भन्नुभो-'चालीस वर्षदेखि म पनि यहीँ छु।'
' किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'बीपी के हुनुहुन्थ्यो?'
'के हुनुहुन्थ्यो?'सुशीलजीले भन्नुभो-'तपार्इँनै भन्नोस्।'
'किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'गणेशमानजी के हुनुहुन्थ्यो?'
'भन्दै जानोस्।' सुशीलजीले जिज्ञासा राख्नुभो-'तपाईँ के भन्न चाहनुहुन्छ?'
'बीपी हुनुहुन्थ्यो वरिष्ठ नेता।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी अध्यक्ष हुनुहुन्थ्यो।'
सुशीलजी बोल्नु भएन।
'गणेशमानजी हुनुहुन्थ्यो सर्वमान्य।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी सभापति हुनुहुन्थ्यो।' सोध्नुभो-'कुरा बुझ्नुभो?'
'यसरी इन्स्टिच्युसन बन्दैन।'सुशीलजीले भन्नुभो-'अब संस्थागत निर्णय गर्नुपर्छ।'
'निर्णय गर्नोस्।' शेरबहादुरजीले भन्नुभो-' संस्थागत निर्णय गरेर मलाई वरिष्ठ नेता भन्नोस्।'
'किन भन्ने?' सुशीलजीले सोध्नुुभो-'तपाई कसरी वरिष्ठ हुनुभो?'
'गिरिजाबाबु पछि मेरो पालो हो।' शेरबहादुरजीले भन्नुभो-'म पटक पटक प्रधानमन्त्री भै सकेँ।'
'म चाहिँं मन्त्रीसमेत भइन।' सुशीलजीले भन्नुभो-'मैले धेरै त्याग गरेकोछु।'
'तपाईँसँग के थियो र त्याग्नु?' शेरबहादुरजीले भन्नुभो-'बरु मैले पो त्यागेँ।'
'के त्याग्नुभो? सुशीलजीले भन्नुभो-'लौ भन्नोस्।'
'म पार्टी हाँकेको मान्छे।' शेरबहादुरजीले भन्नुभो-'उताको पार्टी त्यागेर यता आएँ।' सोध्नुभो-'तपाईले के त्याग्नुभो?'
'मैले पनि त्यागेँ।' सुशीलजीले भन्नुभो-'तपाई पटकपटक ऊ हुनु भो म कहिल्यै भइन।'
'त्यही भएर भनेको।' शेरबहादुरजीले सोध्नुभो-'कहिल्यै केही नभएको मान्छे कसरी वरिष्ठ हुन सक्छ?'
'रामचन्द्रजीलाई सोधौँ।' सुशीलजीले भन्नुभो-'समाधान निस्कन सक्ला कि?'
'तपाईहरू मिल्नोस्।' रामचन्द्रजीले भन्नुभो-'मेलमिलापको विकल्प छैन।'
'कसरी मिल्ने?' शेरबहादुरजीले भन्नुभो-'समस्या यही हो।'
'उपाय सरल छ।' रामचन्द्रजीले भन्नुभो-'हानथाप छाडनोस्, दुवैजना मिलेर मलाई वरिष्ठ बनाउनोस्। सोध्नुभो-'यसभन्दा उत्तम समाधान के हुनसक्छ?'